हेटौँडाः अन्तर्राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगितामा सहभागी हुने मकवानपुर जिल्लाका आदित्य पराजुली र दीपन सापकोटाको विदाई गरिएको छ । राष्ट्रिय तेक्वान्दो संघ मकवानपुरले सोमबार एक समारोहबीच हेटौँडा–१७, हटियास्थित क्रियटिभ तेक्वान्दो डोजाङका पराजुली र सापकोटासहित टिम अफिसियल भोजराज पराजुली र केशव कार्कीलाई विदाई गरेको हो ।
तेक्वान्दो संघका जिल्ला अध्यक्ष मदनकुमार श्रेष्ठको सभाध्यक्ष तथा प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिनाको प्रमुख आतिथ्यमा विदाई कार्यक्रम भएको हो । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघको आयोजनामा बंगलादेशको राजधानी ढाकामा यही जुलाई १० तारिखदेखि १६ तारिखसम्म हुने साउथ एसियन विद्यालय कम्बाट तेक्वान्दो प्रतियोगितामा सहभागी हुन मकवानपुरका २ जना खेलाडी र २ जना अफिसियल गरी ४ जना सोमबार बंगलादेश प्रस्थान गरेका छन् ।
पराजुलीले पुम्से विधामा प्रतिस्पर्धा गर्नुहुनेछ भने सापकोटाले केरोगी विधामा ४५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नुहुनेछ । काठमाडौंमा भएको चन्द्रागिरी राष्ट्रिय तेक्वान्दो प्रतियोगिता र अन्य प्रतियोगितामा सहभागी भएर प्राप्त गरेको नतिजाको आधारमा दुबै खेलाडी प्रतियोगिताका लागि केन्द्रबाट छनौट भएका हुन् । प्रतियोगितामा मकवानपुरसहित अन्य जिल्लाका २४ जना खेलाडीहरुको सहभागिता रहनेछ ।
प्रतियोगितामा १६ बर्षदेखि १८ बर्ष उमेर समूहका खेलाडीहरुको सहभागिता रहने बताइएको छ । पराजुली ६ बर्षदेखि क्रियटिभ तेक्वान्दो डोजाङमा प्रशिक्षण लिँदै आएका छन् भने सापकोटाले ४ बर्षदेखि प्रशिक्षण लिँदै आएका छन् । प्रतियोगितामा सहभागी हुने खेलाडीसहित अफिसियलले व्यक्तिगत खर्चमा बंगलादेश गएका हुन् । प्रतियोगितामा नेपालसहित ७ देशहरुको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागीहरुका लागि खाना र बासस्थानको व्यवस्था आयोजकले गर्नेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।