बागमती प्रदेश प्रहरी गणको फुटबल टिम ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी प्रथम संस्करणको मिलन–धर्मराज स्मृति फुटबल प्रतियोगितामा बागमती प्रदेश प्रहरी गण र हासु एफसी कार्टरफाइनलमा प्रवेश गरेका छन् । आइतबार सम्पन्न दुईवटा खेलमा विजेता बन्दै प्रदेश प्रहरी गण र हासु एफसी क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।

आइतबारको पहिलो खेलमा बागमती प्रदेश प्रहरी गण र एफवाइसी क्लबबीच प्रतिस्पर्धा भएको थियो । मनहरी गाउँपालिकाको सिमपानी मैदानमा भएको पहिलो खेलमा प्रदेश प्रहरी गणले हेटौंडा–१५ स्थित एफवाइसी क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयमा एक–एक गोलको बराबरीमा खेल रोकिएपछि नतिजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो ।

बागमतीको तर्फबाट किरण राउतले एक गोल गरेका थिए भने एफवाइसीको तर्फबाट विवेक लिम्बुले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बागमतीका गोलरक्षक विजय सारु घोषित भएका छन् । अब बागमतीले सेमिफाइनल प्रवेशका लागि बुधबार हेटौंडा फुटबल एकेडेमी र कैलाश आरएम क्लबबीचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । प्रतियोगिताअन्तर्गत आज सोमबार हेटौंडा फुटबल एकेडेमी र कैलाश आरएमबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, आइतबार भएको दोस्रो खेलमा विजयी हुँदै हासु एफसी मनहरी क्वार्टरफाइनमा प्रवेश गरेको छ । एफसी मिन्था क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै हासु क्वार्टरफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलको म्यान अफ द म्याच हासु एफसीका छिरिङ लामा घोषित भएका छन् ।

सिमपानी युथ क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल असार ३१ गते हुनेछ ।