मुख्यमन्त्री जम्कट्टेल ।

हेटौँडाः बागमती प्रदेश सरकारबाट अलग हुन एमालेका मन्त्रीहरु मुख्यमन्त्रीलाई पर्खिनु परेको छ । एमालेका मन्त्रीहरुले राजिनामाको तयारी गरेपनि मुख्यमन्त्री हेटौँडामा नभेटिँदा प्रभावित बनेको हो ।

केन्द्रीय तहमा एमाले कांग्रेस सत्ता समीकरण बनेपछि बागमती प्रदेश सरकार संकटमा छ । समीकरण अनुसार प्रदेशमा पनि एमाले–कांग्रेसको साझेदारीको सरकार बन्ने निश्चित रहेको छ भने कांग्रेसले सरकारको नेतृत्व गर्ने सहमति रहेको छ । सोही समीकरण अनुसार सरकार गठनका लागि वर्तमान शालिकराम जम्कट्टेल नेतृत्वको सरकारबाट एमाले अलग हुनुपर्ने हुन्छ । एमालेले नयाँ समीकरण अनुसार सरकार गठनमा पहल गर्न राजिनामाको तयारी गरेपनि म्ुख्यमन्त्री जम्कट्टेल काठमाडौं भएको प्रभावित बनेको हो । मुख्यमन्त्री जम्कट्टेल राजनीतिक भेटघाटका क्रममा काठमाडौं रहेको र केही दिनपछि मात्र हेटौँडा फर्किने तयारी रहेको छ ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाका अनुसार नयाँ समीकरणबाट सरकार गठनका लागि वर्तमान सरकार छाड्ने तयारी गरिएको थियो । एमालेका सबै मन्त्रीले सामुहिक रुपमा राजिनामा दिने सोच अनुुसार तयारी गरिए पनि मुख्यमन्त्री बाहिर रहेकाले सम्भव नभएको उहाँले बताउनुभयो । ‘वर्तमान जम्कट्टेल नेतृत्वको प्रदेश सरकारमा रहेका एमालेका ५ जना मन्त्रीले राजिनामाको तयारी गरिएको थियो । तर, मुख्यमन्त्री काठमाडौं भएकाले केही दिन पर्खनु पर्ने बाध्यता देखिएको छ ।’ उहाँले भन्नुभयो, ‘मुख्यमन्त्री हेटौँडा आए लगत्तै राजिनामा दिने एमालेले तयारी गरेको र नयाँ सरकार गठनको काम अघि बढाउने छौं । एमाले कांग्रेस समीकरण अनुसार सरकारको नेतृत्व कांग्रेसले गर्नेगरी प्रक्रिया अघि बढाउछौं ।’

केन्द्रमा प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढेसँगै प्रदेश सरकार गठनको काम अघि बढाउने उहाँले बताउनुभयो । प्रदेश सरकारको काम निरन्तर रहेको र मुख्यमन्त्री हेटौँडा फर्किएपछि राजिनामा दिएर थप प्रक्रिया अघि बढ्ने उहाँको भनाई छ ।

३ महिनामै फिर्ता हुँदै एमालेका मन्त्रीहरु
एमालेले वर्तमान सरकारमा सहभागी भएको ३ महिनामा नै मन्त्रीहरुलाई राजिनामा गराउने तयारी गरेको हो । समीकरण फेरिएपछि एमालेले आफ्ना ५ मन्त्रीलाई ३ महिनामा नै फिर्ता बोलाउने तयारी गरेको हो ।

गत फागुन २० मा सत्ता समीकरण परिवर्तन भएपछि प्रदेशमा चैत १७ मा एमाले सरकारमा सहभागी भएको थियो । करिव १ वर्ष प्रतिपक्षमा रहेको एमाले समीकरण फेरिएपछि माओवादी केन्द्र, एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टीको साझेदारीको सरकारमा सहभागी भएको थियो । एमालेबाट चैत १० मा १ र चैत २० मा ५ जना मन्त्री सरकारमा सहभागी भएका थिए ।

एमालेबाट जम्कट्टेल नेतृत्वको चैत १७ मा आर्थिक मामिला तथा योजना मन्त्री थपलिया र चैत २० मा प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री थपलियासहित खानेपानी उर्जा तथा सिंचाई मन्त्री एका लाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, वन तथा वातारण मन्त्री केशव प्रसाद पोखरेल र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ सहभागी भएका थिए ।

आन्तरिक भेटघाटमा व्यस्त मुख्यमन्त्री जम्कट्टेल
सत्ता समीकरण फेरिने सहमति बने लगत्तै काठमाडौं पुगेका मुख्यमन्त्री जम्कट्टेल आन्तरिक भेटघाटमा व्यस्त हुनुहुन्छ । पार्टीका शिर्ष नेतासहित अन्य दलका नेताहरुसँग उहाँले भेटघाट गरिरहनुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

मुख्यमन्त्री जम्कट्टेलको सचिवालयका अनुसार प्रदेश सरकार, सत्ता समीकरण र आगामी भूमिकाका बारेमा आन्तरिक छलफलमा जम्कट्टेल व्यस्त हुनुहुन्छ । सत्ता समीकरण र सरकारको भविष्यका विषयमा मुख्यमन्त्री जम्कट्टेलले संसदीय दलका सदस्य र पार्टी कमिटीसँग छलफल गरिरहेको सचिवालयका एक सदस्यले बताए । सत्ता समीकरण परिवर्तनको सहमतिपछि मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा पर्ने र सो पश्चातको कदम निर्धारणका बारेमा पनि छलफल भइरहेको उनले बताए ।

उनका अनुसार मुख्यमन्त्री जम्कट्टेलले नयाँ समीकरण अनुसार सरकार निर्माणको प्रक्रिया अघि बढाएपछि केन्द्रको निर्देशन अनुसर अघि बढ्ने रणानीति निर्माण गरेका छन् । केन्द्रमा प्रधानमन्त्रीले सहजै मार्ग प्रशस्त गरे सोही अनुसार अन्यथा प्रक्रिया अनुसार विश्वासको मत लिए प्रदेशमा पनि प्रक्रिया फेस गर्ने तयारी रहेको उनले बताए ।

‘सरकारको विषयमा मुख्यमन्त्रीले छलफल गरिरहनु भएको छ । दलको भूमिका र आगामी रणनीति निर्माणमा मुख्यमन्त्रीले छलफल गरिरहनु भएको छ । दुई ठुला दल मिलेपछि बहुमत पुग्ने अवस्था रहन्न । तर, पनि हामीले प्रयत्न गर्ने हो । केन्द्रले निर्देशित गरेअनुसार मुख्यमन्त्रीले कदम चाल्नु हुनेछ । केन्द्रमा मार्ग प्रशस्त गरे प्रदेशमा पनि त्यही हुन्छ । केन्द्रमा विश्वासको मत लिएर अघि बढे मुख्यमन्त्रीले पनि हाउस फेस गर्नुहुन्छ ।’ उनले भने ।