हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी मिलन–धर्मराज स्मृति फुटबल प्रतियोगितामा चितवन जिल्लाको ईन्द्रकमल युथ क्लब क्वार्टरफाइनलममा प्रवेश गरेको छ । शुक्रबार मनहरीको सिमपानी खेल मैदानमा भएको खेलमा बारा जिल्लाको एमडी वाइसीलाई २–० गोलअन्तरले हराउँदै ईन्द्रकमल क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
इन्द्रकमलबाट दुबै गोल विक्की चाम्लिङले गरेका छन् । उनले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा पेनाल्टीमार्फत १ गोल गरेका हुन् । म्यान अफ द म्याच ईन्द्रकमलका आकाश थापा घोषित भए । सिमपानी युथ क्लबको आयोजना भएको प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उपाधि विजेताले एक लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । आज शनिबारको खेलमा हेटौंडा–१५ को एफवाइसी र बागमती पुलिसबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल असार ३१ गते हुनेछ ।