हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुरु गरेको राष्ट्रिय परिचयपत्र शिविरमा करिब ३ हजार जनाले राष्ट्रिय परिचयपत्र लिएका छन् । गत जेठ ३० गतेबाट मकवानपुरको विभिन्न पालिकाहरुसँगको सहकार्यमा सुरु गरेको शिविरमा करिब ३ हजार जनाले राष्ट्रिय परिचयपत्र लिएका हुन् ।

बागमती, बकैया, कैलाश र राक्सिराङ गाउँपालिका र थाहा नगरपालिका गरी सोमबारसम्म २ हजार ८ सय जनाले परिचयपत्र लिएको जिल्ला प्रशासन कार्यालयका कम्पयुटर अपरेटर आशीष पौडेलले जानकारी दिनुभएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीहरुलाई लक्षित गरेर मकवानपुरको विभिन्न पालिकाहरसँगको सहकार्यमा शिवर सञ्चालन गरेको उहाँले बताउनुभयो ।

२०७८ साल माघ २३ गतेदेखि २०७९ साल मंसिर २३ गतेसम्म सञ्चालन भएको वडास्तरीय शिविरमा सेवा लिनबाट वञ्चित हुनेहरुले सेवा लिएको उहाँले बताउनुभयो । मकवानपुरको विभिन्न पालिकाहरुका ज्येष्ठ नागरिकहरुले टाढाबाट आएर परिचयपत्र लिनुपरेकाले उनीहरुलाई समस्या पर्ने भन्दै पालिकामै पुगेर परिचयपत्र लिने वातावरण सिर्जना गरेको उहाँले बताउनुभयो ।

आगामी आर्थिक वर्षबाट परिचयपत्रबिना वृद्धभत्ता लिन नपाउने नियम लागू भएपछि परिचयपत्र लिने ज्येष्ठ नागरिकको संख्या बढेको पाइएको छ । शिविर सञ्चालनको पहिलो दिन राक्रिाङ गाउँपालिकामा परिचयपत्र वितरण गरेको थियो भने असार ३ गतेदेखि ६ गतेसम्म कैलाश गाउँपालिकामा र असार ८ गतेदेखि १३ गतेसम्म थाहा नगरपालिकामा वितरण गरिएको थियो । यस्तै, असार १५ गतेदेखि १८ गतेसम्म ईन्द्रसरोवर गाउँपालिकामा शिविर सञ्चालन गरेको बताइएको छ ।

परिचयपत्र बनाउन आउने सबै सेवाग्राहीहरुले सेवा लिन पाएको बताउनुहुँदै परिचयपत्रका लागि आवश्यक कागजपत्र पूरा नमिलेकाहरु मात्र सेवाबाट वञ्चित हुनुपरेको उहाँले बताउनुभयो । मकवानपुरको बकैया र बागमती गाउँपालिकामा शिविर सम्पन्न भइसकेको बताउनुहुँदै उहाँले भन्नुभयो– ‘दुबै पालिकामा शिविर सम्पन्न भएसँगै हाम्रो टोली परिचयपत्र वितरणका लागि मनहरी, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकामा जानेछन् ।’ सामाजिक सुरुक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीहरुलाई लक्षित गरेर आयोजना गरेको शिविर बिहीबारसम्म सञ्चालन हुने बताइएको छ ।