बागमती प्रदेश सभाकी सदस्य भारती पाठक

हेटौंडाः बागमती प्रदेश सभाकी सदस्य भारती पाठकले नेपाली सेनाको गोली लागेर मृत्यु भएका हेटौंडा–१४ का शुक्र बहादुर तितुङको परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गर्नुभएको छ । मंगलबार बागमती प्रदेश सभामा बजेटमाथिको छलफलका क्रममा उहाँले यस्तो माग गर्नुभएको हो ।

तितुङको गत असार ८ गते पर्सा राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर मृत्यु भएको थियो । पाठकले निकुञ्ज वरिपरी मध्यावर्ति क्षेत्रमा जनताहरु सधै क्रसित हुनुपर्ने र जनताहरुले बाँच्न पाउने अधिकारबाट पनि वञ्चित भइरहेको बताउनुभयो ।

यो विषयमा संघीय सरकारसँग छलफल गरेर प्रदेशभित्रका नागरिकहरुलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर छलफल गर्न नसकिरहेको भन्दै उहाँले यसका विषयमा प्रदेश सरकारले ध्यान दिन आवश्यकता रहेको उहाँले औंल्याउनुभयो ।

सोमबार उद्योग पर्यटन तथा वातावरण समितिले मृतक तितुङका परिवारसँग भेटघाट गर्दा बिहान र बेलुका कमाएर आफै परिवार पाल्नुपर्ने अवस्था रहेको परिवारलाई प्रदेश सरकारबाट तत्काल राहत उपलब्ध गराउन पनि उहाँले आग्रह गर्नुभयो ।