हेटौँडाः हेटौँडा–४, कमलडाँडास्थित ब्रह्मदिक एकेडेमीमा शुक्रबार नमूना मतदान अभ्यास भएको छ । विद्यार्थीलाई सामाजिक शिक्षा अध्ययनको नागरिक चेतना एकाई अन्तर्गत निर्वाचन प्रणाली र दलहरूबारे जानकारी दिन तथा प्रतिनिधि सभा र प्रदेश सभा साथै स्थानीय तहका प्रतिनिधिहरू प्रत्यक्ष निर्वाचन प्रणालीबारे जानकारी गराउन निर्वाचनको अभ्यास गरिएको विद्यालयले जनाएको छ ।

मकवानपुर जिल्लाबाट बाग्मती प्रदेश सभाका लागि ४ क्षेत्रबाट ४ जना छानिए जस्तै विद्यालयका ४ वटा सदनलाई नै ४ वटा क्षेत्र मानेर निर्वाचनको अभ्यास गरिएको थियो । निर्वाचनमा ४ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई मतदानको अवसर प्रदान गरिएको थियो । निर्वाचनमा ४ सय १५ जना विद्यार्थीले मतदान गरेका थिए ।

हेटौँडास्थित निर्वाचन आयोगको बागमती प्रदेश कार्यालयबाट आम निर्वाचनमा प्रयोग हुने सामग्री नै व्यवस्थापन गरेर निर्वाचनको अभ्यास गरिएको थियो । निर्वाचनबाट निलो सदनबाट प्रियान्सु पोखरेल, हरियो सदनबाट सिवांशु जंग पाण्डे, पहेँलो सदनबाट इच्छा लामा र रातो सदनबाट स्तुति गुरागाईँ निर्वाचित हुनु भएको छ । निर्वाचित विद्यार्थीलाई आइतबार विद्यालयका प्रिन्सीपल रामबाबु सापकोटाले सपथग्रहण गराउनु भएको छ ।