हेटौँडाः हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको नायकमा कक्षा–१० का युवराज पण्डित निर्वाचित हुनुभएको छ । शुक्रबार भएको निर्वाचनबाट पण्डितले कक्षा–१० का सुनिल तामाङलाई ८३ मतले हराउँदै विद्यालयको नायकमा निर्वाचित हुनुभएको हो ।
पण्डितले ३ सय ६५ मत प्राप्त गर्दा अर्का आंकाक्षी तामाङले २ सय ८२ मत प्राप्त गर्नुभयो । विद्यालयको सह–नायकमा कक्षा–९ की दीपिसा श्रेष्ठलाई १ सय मतले हराउँदै कक्षा–१० का सुमन राय निर्वाचित हुनुभएको छ । रायले ३ सय ५८ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्रेष्ठले २ सय ५८ मत प्राप्त गर्नुभयो ।
विद्यालयको सदनको नायकका लागि भएको निर्वाचनमा निलो सदनबाट कक्षा–९ का कृष्णा यादवले कक्षा–७ की सुस्मिता दहाललार्ई ७६ मतले हराउँदै सदन नायक निर्वाचित हुनुभएको छ । यादवले ८९ मत प्राप्त गर्दा प्रतिस्पर्धी दहालले १३ मतमात्र प्राप्त गर्नुभयो । निलो सदनबाट नै सह–नायकका लागि भएको निर्वाचनमा कक्षा–१० का करुण दहाललाई ३३ मतले हराउँदै कक्षा–८ का सुवोध साह निर्वाचित हुनुभएको छ । विजेता साहले ८९ मत प्राप्त गर्दा प्रतिस्पर्र्धी दहालले ५६ मत प्राप्त गर्नुभएको हो ।
हरियो सदनबाट कक्षा–९ की उन्नति अर्यालले कक्षा–६ का सुशान्त लामालाई ७३ मतले हराउँदै सदन नायक निर्वाचित हुनुभएको छ । विजयी अर्यालले ९० मत प्राप्त गर्दा पराजित लामाले १७ मतमात्र प्राप्त गर्नुभयो । कक्षा–८ की सन्ध्या सापकोटाले २७ मतले कक्षा–६ का रोशन गिरीलाई हराउँदै सह–नायकमा विजयी हुनुभएको छ । सापकोटाले ६७ मत प्राप्त गर्दा गिरीले ४० मत प्राप्त गर्नुभएको हो ।
सुन्तला रंग सदनबाट कक्षा–९ की विनिता थोकरलाई १६ मतले पराजित गर्दै कक्षा–९ कै निखिल सिंह नायक निर्वाचित हुनुभएको छ । विजयी सिंहले ५६ मत प्राप्त गर्दा प्रतिस्पर्धी थोकरले ४० मत प्राप्त गर्नुभयो । कक्षा–६ का अभिषेक दासलाई २८ मतले पराजित गर्दै कक्षा–१० की दीपा न्यौपाने सह–नायकमा निर्वाचित हुनुभएको छ । विजयी न्यौपानेले ६० मत प्राप्त गर्दा दासले ३२ मत प्राप्त गर्दै पराजित हुनुभएको हो ।
रातो सदनबाट कक्षा–१० की सोनी गोलेलाई ४२ मतले हराउँदै कक्षा–८ का उज्ज्वल पटेल सदन नायकमा निर्वाचित हुनुभएको छ । निर्वाचित पटेलले ७८ मत प्राप्त गर्दा आकांक्षी गोलले ३६ मत प्राप्त गर्नुभयो । कक्षा–७ का हार्दिक पण्डितलाई ७८ मतले पराजित गर्दै कक्षा–१० का अनुप पौड्याल सह–नायकमा निर्वाचित हुनुभएको छ । पौड््यालले ९५ मत प्राप्त गर्दा पण्डितले १७ मत प्राप्त गर्दै पराजित हुनुपरेको हो ।
बैजनी सदनबाट कक्षा–७ की प्रियान्सी बानियाँलाई ६० मतले पराजित गर्दै कक्षा–९ का कन्हैयाकुमार यादव सदन नायक निर्वाचित हुनुभएको छ । विजयी यादवले ८७ मत प्राप्त गर्दा बानियाँले २७ मत प्राप्त गर्दै पराजित हुनुभएको हो । बैजनी समूबाटै सह–नायकमा कक्षा–१० का स्तोत्र लामिछाने निर्वाचित हुनुभएको छ । लामिछानेले प्रतिस्पर्धी कक्षा–८ का अर्पण गोलेलाई ३० मतले पराजित गर्दै नायकमा निर्वाचित हुनुभएको हो । लामिछानेले ८५ मत प्राप्त गर्दा गोलेले ५५ मत प्राप्त गर्नुभयो ।
पहेँलो सदनबाट कक्षा–७ का अनिस स्याङ्तानलाई २४ मतले पराजित गर्दै कक्षा–९ की निर्मला सिर्मल सदन नायकमा निर्वाचित हुनुभएको छ । सिर्मलले ६२ मत प्राप्त गर्दा प्रतिस्पर्धी स्याङ्तानले ३८ मत प्राप्त गर्नुभयो । पहेँलो सदनकै सह–नायकमा कक्षा–१० की सफलता लामा निर्वाचित हुनुभएको छ । विजयी लामाले प्रतिस्पर्धी कक्षा–९ का सुलभ ढुंगानालाई ४६ मतले पराजित गर्दै सह–नायकमा निर्वाचित हुनुभएको हो । विजयी लामाले ६६ मत प्राप्त गर्दा ढुंगानाले २० मत प्राप्त गर्नुभएको हो ।
निर्वाचन प्रक्रियामा कक्षा–६ देखि १० सम्मका विद्यार्थीहरुलाई मताधिकार प्रदान गरी मतदान गर्न मिल्ने व्यवस्था मिलाइएको थियो । विद्यार्थीहरुलाई मतदानको शिक्षा प्रदान गर्दै मतदानको अभ्यास गराउनका लागि नायक, सह–नायक, सदन नायक र सह–नायकका लागि निर्वाचन गरिएको हो । कक्षा ६ देखि १० सम्मका ६ सय ७० जना विद्यार्थीहरुले मतदान गर्न मिल्नेगरी व्यवस्था गरिएको थियो । एक साता पहिला नै विद्यालयले मतदान प्रक्रियाका लागि कार्यतालिका सार्वजनिक गरेको थियो । निर्वाचन प्रक्रियाबाट विजयी हुनेहरुलाई आइतबार सपथग्रहण गराइने बताइएको छ ।