हेटौँडाः हेटौँडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयमा विद्यार्थीको नेतृत्व चयनका लागि निर्वाचन भएको छ । निर्वाचन प्रक्रियाबाट विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन तथा हाउस क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको हो ।

शुक्रबार विद्यालयले नेतृत्व चयनका लागि निर्वाचन गरेको अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक सुमन श्रेष्ठले जानकारी दिनुभयो । कक्षा ८ देखि १० सम्मको विद्यालय क्याप्टेन, भाइस क्याप्टेन तथा हाउस क्याप्टेन, भाइस क्याप्टेनमा ५ सय ३७ जनाले मतदान गरेको उहाँले जानकारी दिनुभयो । विद्यालयको क्याप्टेनमा साजित खान चयन हुनुभएको छ । खानले ४ जनालाई पछि पार्दै १७४ मतले विजयी हुनुभएको हो । विद्यालयको भाइस क्याप्टेनमा सुमित यादव चयन हुनुभएको छ । यादवले ५ जनालाई पछि पार्दै २ सय ७४ मतले विजयी हुनुभएको छ ।

यस्तै, रेड हाउस क्याप्टेनमा आलुकुमार यादव चयन हुनुभएको छ । यादवले ४ जनालाई पछि पार्दै विजयी हुनुभएको हो । भाइस क्याप्टेनमा ३ जनालाई पछि पार्दै सचिन यादव चयन हुनुभएको हो । यस्तै, ब्लु हाउसबाट सुभासप्रसाद जैसवाल ३ जनालाई पछि पार्दै क्याप्टेनमा विजयी हुनुभएको छ । ब्लु हाउसबाट प्रिन्सकुमार कड ३ जनालाई पछि पार्दै भाइस क्याप्टेनमा चयन हुनुभएको छ ।

ग्रीन हाउसतर्फ पुरुषोत्तम साह ३ जनालाई पछि पार्दै क्याप्टेनमा विजयी हुनुभएको छ भने विकास यादव ३ जनालाई पछि पार्दै भाइस क्याप्टेन चयन हुनुभएको छ । यस्तै, एल्लो हाउसतर्फ सुबेन्द्र दास ३ जनालाई पछि पार्दै क्याप्टेनमा विजयी हुनुभएको छ भने प्रभास यादव २ जनालाई पछि पार्दै भाइस क्याप्टेनमा चयन हुनुभएको छ ।

निर्वाचन प्रक्रियामा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्य रहेको थियो । निर्वाचनमा सहायक प्रधानाध्यापक भरत पोखरेल र वेदराज कोइरालाले पर्यवेक्षकको भूमिका निर्वाह गर्नुभएको थियो । शिक्षक प्रतिनिधिको रूपमा सूर्यप्रसाद घिमिरे रहनुभएको थियो । अनुगमन तथा सल्लाहकारमा विद्यालयका प्रधानाध्यापक माधव दाहाल र विद्यालयका लेखापाल बालकृष्ण दाहाल रहनुभएको थियो । विद्यालयमा हाल २ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।