हेटौंडाः मकवानपुरगढी गाउँपालिकाको आयोजनामा एक दिने बाल साहित्य महोत्सव हुँदैछ । आज शुक्रबार हुने महोत्सवमा मकवानपुरगढी गाउँपालिकाभित्रका आधारभूत र माध्यमिक गरी १६ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहने गाउँपालिकाका सामाजिक विकास अधिकृत सूर्यबहादुर गुरुङले जानकारी दिनुभयो ।
महोत्सवमा कविता, निबन्ध र नृत्यजस्ता कार्यक्रमहरु गरिने उहाँले जानकारी दिनुभयो । बालमैत्री स्थानीय शासन कार्यान्वयनमा स्थानीय तहको भूमिका शीर्षकमा निबन्ध प्रतियोगिता हुनेछ । निबन्ध प्रतियोगिताको निर्णय यश लामाले गर्नुहुने गुरुङले बताउनुभयो ।
कविताको निर्णायकमा शान्तिप्रिय बन्दना, पुरुषोत्तम आचार्य र छवि अनित्य रहनुहुनेछ । कविता राष्ट्रियताको भाव झल्कने हुनुपर्ने उहाँले जानकारी दिनुभयो । नृत्यमा राजकुमार थिङ, सुनिता लामा र मनोज लामाले निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई प्रशंसापत्रसहित स्टेशनरी सामग्री वितरण गरिने उहाँले जानकारी दिनुभयो । महोत्सव वरिष्ठ साहित्यकार डा. नवराज नम्सालको विशिष्ट आतिथ्य तथा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यमा हुनेछ ।