हेटौँडाः न्युनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधनको विषयमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । आज बिहान हेटौँडामा भएको कार्यक्रममा जिल्लामा क्रियाशील सञ्चारकर्मी र सञ्चार उद्यमीको सहभागिता रहेको थियो ।
अन्तरक्रियामा न्युनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले २०७५ सालमा न्युनतम पारिश्रमिक निर्धारण गरेपछि पुनरावलोकन हुन नसकेकोले पुनरावलोकन गर्न लागिएको जानकारी दिनुभयो। यसअघि नै निर्धारण गरिएका पारिश्रमिक लागु हुन नसकेको उल्लेख गर्नुहुँदै थप सुधार गरेर जान चुनौतिपूर्ण रहेको खड्काले बताउनुभयो ।
प्रविधिका कारण पनि पत्रकारिताको अभ्यासमा निक्कै फेरवदल भएको उहाँले बताउनु भयो । कार्यक्रममा न्युनतम पारिश्रमिक निर्धारण समितिकी सदस्य शान्ता अधिकारी, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरको पनि आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले मकवानपुर जिल्लामा ५ वटा दैनिक समाचारपत्रसहित २२ वटा पत्रिका, १३ वटा एफएम रेडियो, २ वटा टेलिभिजन, ४० वटा अनलाइन रहेको जानकारी दिनुभयो ।