हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा प्रथम संस्करणको मिलन धर्मराज स्मृति खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । सिम्पानी युथ क्लबको आयोजनामा असार २० गतेबाट प्रतियोगिता हुने भएको हो ।

मनहरी–८ स्थित सिम्पानी मैदानमा हुने प्रतियोगितामा मकवानपुरसहित बाहिरी जिल्लाका टिम सहभागी हुन पाउनेछन् । प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क ७ हजार रुपैयाँ तोकिएको र असार १७ गतेसम्म टाइसिट सार्वजनिक गरिने क्लबका अध्यक्ष प्रकाश सुवेदीले जानकारी दिनुभएको छ । प्रतियोगितामा सहभागी हुनका लागि बुधबारसम्म ८ टिम दर्ता भएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

गाउँपालिकाको पूर्वफुटबल खेलाडी मिलन धर्मराजको स्मृतिमा यस वर्षबाट प्रतियोगिता आयोजना गर्न लागेको उहाँले बताउनुभयो । स्कुटर दुर्घटनामा निधन भएका धर्मराजको स्मृतिमा प्रतियोगितालाई निरन्तरता दिने लक्ष्य रहेको उहाँले बताउनुभयो । प्रतियोगिता आयोजनाका लागि गाउँपालिकाबाट विभिन्न सामग्री सहयोग प्राप्त भएको उहाँले बताउनुभयो ।

प्रतियोगिताका लागि स्थानीय क्रसर व्यावसायी र अन्य व्यक्तिहरुबाट पनि सहयोग प्राप्त हुने उहाँको भनाइ छ । प्रतियोगितामा सहभागी हुन आउने टिमहरुका लागि गाडी भाडाको व्यवस्था आयोजकले गर्ने बताउनुभयो । विभिन्न स्थानका खेलाडीहरुबीच भातृत्व कायम गराउन, राष्ट्रिय खेलाडी उत्पादन गर्न र फुटबल खेलको महत्वबारे बुझाउन प्रतियोगिता आयोजना गर्न लागेको जनाइएको छ ।

फिफाको नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा सहभागी प्रतियोगिहरुले कुनै प्रकारको झै–झगडा गरेमा प्रतियोगिताबाट बाहिरनेछन् । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई ५–५ हजार रुपैयाँको नगद राशि र प्रमाणपत्र प्राप्त गरिनेछ । यस्तै, प्रतियोगिता अवधिभरको सर्वोकृष्ट खेलाडीले ७ हजार रुपैयाँ र ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिता आयोजनाका लागि करिब ९ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।