सांकेतिक तस्वीर ।

हेटौँडाः बागमती प्रदेशको २ जिल्लामा एकैदिन ४ जनाको मृत्यु भएको छ । प्रदेशको धादिङ जिल्लामा एकैदिन ३ जना र काभ्रेपलाञ्चोक जिल्लामा १ जनाकोे मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । धादिङ जिल्लाको धुनिवेशी नगरपालिका–५, फुरौलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्लाका ३५ वर्षीय दिलिप राउत रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार स्थानीयको घरमा विद्युत जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५, जनगाउँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षीय सूर्य बहादुर घले रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा घले सीतापधेरो सामुदायिक वनमा घाँस काट्ने क्रममा भिरबाट लडेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

धादिङ जिल्लाको गजुरी गाउँपालिका–१, सुन्दरगाउँमा रुखकोे हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय हीरालाल विश्वकर्मा रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार कट्टुखोला भन्ने ठाउँमा खानेपानीको पाईप बनाउने क्रममा अचानक रुखको हाँगा भाचिएर लाग्दा हीरालालसहित ६२ वर्षीय पूर्ण बहादुर विश्वकर्मा घाइते भएका थिए । घाइते दुबैलाई उपचारका लागि गजुरी अस्पताल गजुरी लगिएकोमा उपचारको क्रममा हीरालालको मृत्यु भएको र पूर्ण बहादुरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–७, भकुण्डे बुद्धचोकमा बोलेरोले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ८४ वर्षीय सेरब लामा रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार राती ९ बजेर ४५ मिनेटको समयमा भकुण्डेबाट कटुन्जेतर्फ जाँदै गरेको बा १० च २४९६ नम्बरको बोलेरो गाडिले ठक्कर दिँदा लामा घाईते भएका थिए । घाइते लामालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारका क्रममा मंगलबार राती ११ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।