हेटौँडाः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाको आयोजना र मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा एक दिवसीय प्रदेशस्तरीय खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी गोष्ठी भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका कार्यालय प्रमुख तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत काशिनाथ घिमिरेको अध्यक्षता तथा उद्योग तथा वाणिज्य कार्यालय हेटौँडाका प्रमुख रामप्रसाद भुषालको प्रमुख आतिथ्यमा मंगलबार मकवानपुर उद्योेग वाणिज्य संघको सभाहलमा कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपाने र मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न कार्यालय तथा संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी÷व्यवसायीको सहभागितामा कार्यक्रम भएको हो । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख काशिनाथ घिमिरेले कार्यालयको गतिविधिबारे जानकारी गराउनुभएको थियो । साथै कार्यालयका खाद्य अनुसन्धान अधिकृत प्रगति अधिकारीले उद्योग दर्ता, नवीकरण तथा अनुमतिका कानूनी प्रावधानलगायतको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले आवश्यक्ता भन्दा बाहेकका चहना पूरा गर्न अरुलाई असर पर्ने काम गर्न नहुने, सिमापारबाट आउने खाद्य सामानहरुको गुणस्तर यकिन हुनुपर्ने र त्यसका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले स्पष्ट गर्नुपर्ने बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुणस्तरयुक्त भनेको बस्तु पछि गुणस्तरहिन ठहरिएको बिगतमा पाएको, गुणस्तरले अन्तर्राष्ट्रिय बजारमा हाम्रो देशप्रतिको धारणा निर्माण हुनेभएकाले सजग रहनुपर्ने, कानूनलाई सेवा पुग्नेगरी कार्यालयका काम परिलक्षित रहनुपर्ने उहाँको भनाइ थियो ।
हेटौँडा उपमहानगरपालिकाका अधिकृत हिम प्रसाद पौडेलले लघु उद्योगलाई अनुज्ञापत्र सहज गर्नुपर्ने बताउनुभएको थियो । उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष बासु खतिवडाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पालिकाहरुसँग सहकार्य गरी नियमन गर्नुपर्ने, कारवाहीका नतिजा सार्वजनिक गर्नुपर्ने, नयाँ बनेको खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ ले सरोकारवाला निकायहरुसँग सहकार्य गर्ने बारे स्पष्ट व्यवस्था नगरेको, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमनको प्रभावकारिता बढाउनुपर्ने बताउनुभएको थियो ।
उपभोक्ता मञ्च नेपालका बागमती प्रदेश संयोजक कुमार पौडेलले खाद्य गुणस्तर सम्बन्धमा उपभोक्तालाई सचेत गराउन सकेमा उत्पादक स्वतः सतर्क हुने बताउनुभयो । उद्योग संघ मकवानपुुरका अध्यक्ष बद्रीनाथ शर्माले छिमेकी मुलुकका दुध, तरकारी जस्ता सामानहरुको गुणस्तरबारे राज्यसँग भर नपरी उपभोक्ता स्वयम् सचेत रहनुपर्ने बताउनुभएको थियो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले मकवानपुर उद्योग वाणिज्य संघले उद्योगी÷व्यवसायी तथा सर्वसाधारणलाई सचेत गराउँदै विभिन्न सरकारी निकायहरुका अनुगमनमा सहकार्य गर्दै आएको जानकारी दिनुभयो । उद्योगी÷व्यवसायीले कतिपय समयमा अनभिज्ञताको कारण प्राविधिक विषयहरुमा समस्या झेल्नुपरेको अनुभव सुनाउनुहुँदै उहाँले नियमबारे सुसूचित गर्नुपर्ने, नक्कली चामल बिक्री गरेको झुटो आरोपमा व्यवसायीले जेल बस्नुपरेको घटनाले पीडित व्यवसायीको मनोदशा के भयो होला ? भनेर प्रश्न गर्नुभएको थियो ।
उद्योग तथा वाणिज्य कार्यालय, हेटौँडाका प्रमुख रामप्रसाद भुषालले अनुगमनको दायरा अनुरुप सरोकारवाला निकायहरुसँग सहकार्यमा काम गर्नेगरेको बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख काशिनाथ घिमिरेले ऐनका प्रावधान निर्माणमा कार्यालयको भूमिका नहुने खाली कार्यान्वयनको जिम्मेवारी मात्र रहने बताउनुभयो । बजार अनुगमन गर्दा सम्बन्धित पालिकाको प्रतिनिधिलाई समेट्ने गरिएको, प्रयोग गरिएको बस्तु, प्रविधि र प्याकेजिङको आधारमा खाद्य बस्तुको म्याद फरकफरक निर्धारण हुनसक्ने, अनुसन्धानमा गोप्य राख्नुपर्ने बाहेकका क्रियाकलापहरुको त्रैमासिक समिक्षा सार्वजनिक गर्ने उहाँले बताउनुभएको थियो ।