हेटौंडाः हेटौंडा उपमहानगरपालिका–४ स्थित भूटनदेवी माविमा सञ्चालित दुई दिने आँखा शिविर सम्पन्न भएको छ । भूटनदेवी एल्मुनाई एसोसिएसन, रोटरी क्लब अफ हेटौंडा, भूटनदेवी माध्यमिक विद्यालय र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा शुक्रबार र आइतबार आँखा शिविर भएको हो ।
दुई दिने शिविरमा ९ सय ४२ जनाको आँखा जाँच गरिएको छ । जाँच गराएकामध्ये ८० जनाको आँखामा समस्या देखिएको छ भने एकजना विद्यार्थीको आँखामा मोतिविन्दु देखिएको जनाइएको छ । शिविरको पहिलो दिन विद्यालयका कक्षा ७ र ८ का ३ सय ८७ जना विद्यार्थीको आँखा जाँच गरिएको थियो । जसमा ३७ जना विद्यार्थीको आँखामा समस्या देखिएको थियो । दोस्रो दिन कक्षा ९ र १० का ५ सय ५५ जना विद्यार्थीको आँखा जाँच गरिएको हो । जाँच गराएकामध्ये ४३ जनाको आँखामा समस्या देखिएको छ ।
शिविरमा हेटौंडा अस्पतालका ५–५ जना डाक्टरको टोलीले छुट्टाछुट्टै आँखा जाँच गरेको थियो । विद्यार्थीको आँखाको समस्या पहिचान गर्ने र समयमै जाँच गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो । आँखामा समस्या देखिएका विद्यार्थीले अभिभावकको सम्पर्कमा अस्पतालमा निःशुल्क आँखा जाँच गर्न सक्ने व्यवस्था मिलाइएको छ । शिविर समापन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्य रहेको थियो भने विद्यालयका प्रधानध्यापक माधवप्रसाद दाहालको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि लामाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने भन्दै नियमित रुपमा चेकजाँच गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा १० जना प्राविधिकलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । यस्तै, कार्यक्रममा रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष स्वागतराज प्याकुरेल र विद्यालयका पूर्वप्रधानाध्यापक विशालकुमार बिडारीको आतिथ्य रहेको थियो । विद्यालयमा यसअघि दन्त शिविरको आयोजना गरिएको थियो ।