हेटौंडाः मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तीर्थराज चिलुवालले शान्ति सुरक्षा प्रबन्धमा जिल्ला प्रशासन कार्यालय प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आम नागरिकलाई निर्धक्क रहेर जीविकोपार्जनमा अग्रसर हुने वातावरण निर्माणमा प्रशासन कार्यालयले कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नुभयो ।
हालै गृह मन्त्रालयबाट सरुवा भए जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रमुखको रुपमा आउनुभएका चिलुवालले कार्यालयमा बिहीबार आयोजित पत्रकार भेटघाटमा सहज र स्तरीय सेवा प्रवाह प्रशासनको प्राथमिकतामा रहेको बताउनुभयो । ‘गुणस्तरीय सेवा र सुरक्षा प्रशासनको प्राथमिकतामा रहेको विषय हो । आम नागरिकले सुरक्षित महसुस हुने गरी आफ्नो दैनिकी सञ्चालन गर्ने वातावरण निर्माणमा कुनै कञ्जूस्याइँ रहन्न । कानुनविपरित हुने कामको विरुद्धमा प्रशासन सधैँ सक्रिय रहन्छ’, उहाँले भन्नुभयो ।
प्रजिअ चिलुवालले सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो । जिल्लाका सम्पूर्ण सरकारी निकायबाट प्रवाह हुने सेवालाई चुस्त दुरुस्त तथा गुनासोरहित बनाउन प्रशासनले भूमिका खेल्ने उहाँको भनाइ छ । हरेक नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न र बोल्न पाउने अधिकारको सुनिश्चितता गर्ने उहाँले बताउनुभयो । समाजमा अराजक गतिविधि गर्नेहरुलाई कानुनबमोजिम कारवाही गर्न प्रशासन पछि नहट्ने उहाँले बताउनुभयो । विपद् व्यवस्थापनका काममा सक्रियतापूर्वक उपलब्धी प्राप्त हुने गरी प्रशासनले काम गर्ने र सोही अनुसार सुरक्षा निकाय परिचालित हुने उहाँको भनाइ छ ।
‘मनसुनको पूर्वतयारी र प्रतिकार्यको काममा ठोस रणनीति सहित अघि बढ्नेछौं’, प्रजिअ चिलुवालले भन्नुभयो– ‘विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरेर सुरक्षा निकाय परिचालन हुनेछन् ।’ उच्च जोखिममा रहेका बासिन्दाहरुको पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयमा पनि छलफल गर्ने उहाँले जानकारी दिनुभयो ।