हेटौँडाः हेटौंडा–१७, गैरीगाउँस्थित भट्टराई टोलमा भूमिगत सिँचाइ आयोजनाको शिलान्यास भएको छ । शनिबार वडा अध्यक्ष उद्धव सत्यालले सिँचाइ आयोजनाको शिलान्यास गर्नुभएको स्थानीय मोहनप्रसाद ढकालले जानकारी दिनुभयो ।
भूमिगत जल सिँचाइ विकास डिभिजन चितवन, खैरहनीबाट प्राप्त २० लाख रुपैयाँ बजेटबाट एक सय मिटर बोरिङ गरेर पानी निकाल्ने र आर्थिक वर्ष २०८१÷०८२ को बजेटले पम्प हाउस र पाइप लाइन निर्माण गरिने उहाँले जानकारी दिनुभयो । भूमिगत जल सिँचाइबाट सुख्खा जमिनमा १२ महिना नगदे बाली, तरकारी, अन्न उब्जाउ गर्ने उद्देश्यले सुरुवात गरिएको उहाँले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रममा चेतनशील सिँचाइ समितिका अध्यक्ष, सचिव र उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।