सांकेतिक तस्वीर ।

हेटौंडाः बागमती प्रदेशको विभिन्न ५ जिल्लामा एकैदिन ५ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र सिन्धुली जिल्लामा एकैदिन ५ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका–६, पाँचकिलोस्थित त्रिशुली नदीको किनारमा एक जना महिला मृत फेला परेकी छन् । शुक्रबार बिहान ८ बजेर १५ मिनेटको समयमा अन्दाजी ४० वर्षीया महिला मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । शव सडी गलिसकेको र पहिचान गर्न नसक्ने अवस्थामा फेला परेको थियो । मुचुल्कापश्चात् शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल लगिएको प्रहरीले जनाकारी दिएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–४, महादेव खोलाको बगरमा नवजात शिशु मृत फेला परेका छन् । शुक्रबार दिउँसो ४ बजेको समयमा बगरमा अन्दाजी ४५ महिनाको जस्तो देखिने छोरा शिशुको बेवारिसे अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । यस्तै, सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–८, लामोसाँघुको सडकमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–३, धुस्कुनका ६५ वर्षीय सन्तबहादुर पहरी रहेको प्रहरीले जानकारी दिएको छ । पहरी शशुक्रबार सडकमा हिँड्दै गरेको अवस्थामा अचानक सडकको छेउमा लडी घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–६, पाटिखोलाको एक होटलमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा उदयपुर जिल्ला सुपर–५ का ३५ वर्षीय नमस परियार रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार परियारसहित धरान उपमहानगरपालिका–१५, श्यामचोकका २३ वर्षीय अजित मग्राती, धरान उपमहानगरपालिका–१४ का ३३ वर्षीय वीरबहादुर लिम्बु होटेलमा रुम लिइ बसेका थिए । राति खाना खाई सुतेकोमा परियार शुक्रबार बिहान सुतेको ठाउँमा मृत फेला परेका थिए । परियारसहित दुबै जना ब्लड क्यान्सर पीडितको सहयोगका लागि पैसा उठाउँदै हिँडेका थिए । मृतक परियारको शरीरमा चोटपटक ,निलडाम केहि नभएको र मुचुल्कापश्चात् शव पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पताल चरिकोट लगिएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–११, जरायोटालमा एक जना वृद्धाको मृत्युु भएको छ । मृत्यु हुनेमा ७५ वर्षीया ओमकुमारी सापकोटा रहेको प्रहरीले जानकारी दिएको छ । सापकोटा शुक्रबार बिहान ८ बजेर ३० मिनेटको समयमा छाती दुखेर बिरामी भएकी थिई । सापकोटालाई उपचारका लागि सिन्धुली अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।