हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पताललाई गाभ्न दिन नहुने राजनीतिक दलहरुको भनाइ छ । शनिबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरमा प्रतिष्ठान र हेटौंडा अस्पतालको विषयमा भएको छलफल कार्यक्रममा राजनीतिक दलहरुले एक मत भई यी दुईलाई गाभ्न नहुने बताएका हुन् ।
कार्यक्रममा विभिन्न राजनीतिक दलहरुका प्रतिनिधिले आप्mनो भनाइ राखेका थिए । हेटौंडा अस्पताललाई अस्पताल राख्ने र प्रतिष्ठानाई प्रतिष्ठान नै राख्ने विषयमा दलको सहमति रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर जिल्ला सचिव भीमसेन महतले प्रतिष्ठान आएपछि हेटौँडा अस्पतालको स्तरोन्नति भएको भन्ने भनाइ गलत रहेको बताउनुभयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेटौँडा अस्पताललाई आप्mनो ठानिरहेको महतको भनाइ छ । कार्यक्रममा महतले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मकवानपुरबासीका लागि गौरवको योजना भएको भन्दै यसको मूल लक्ष्य स्वास्थ्यमा अनुसन्धान गर्ने, अध्ययन/अध्यापन गर्ने रहेको बताउनुभयो । प्रतिष्ठानका लागि स्वास्थ्य सेवा दोस्रो प्राथमिकतामा रहेको महतले प्रष्ट पार्नुभयो ।
प्रतिष्ठान र अस्पताललाई अलग–अलग राख्न दलहरुले सहमति जनाएका थिए । हेटौँडा अस्पतालको सम्पत्ति, दायित्व प्रतिष्ठानलाई दिन नहुने दलहरुले बताएका छन् । कार्यक्रममा प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा रहेको असहमतिका दफाहरुको विषयमा पनि छलफल भएको थियो । कार्यक्रममा जिसस मकवानपुरका प्रमुख ललित घलानले एकले अर्कालाई विरोध नगरी अगाडि जान आग्रह गर्दै मकवानपुर जिल्लामा दुबै स्वास्थ्य एकाइ चाहिने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले सामाजिक सञ्जालमा नकारात्मक कुरा आउने गरेको भन्दै कोहि कसैको विरुद्ध नरहेको बताउनुभयो ।
कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले अस्पताल र प्रतिष्ठान छुट्टै हुनुपर्ने बताएका छन् । सम्पत्ति हस्तान्तरण गर्न नहुने, दुबै सरकार मकवानपुरमा रहनुपर्ने विषयमा प्रदेश सरकार, जनता, दल, केन्द्रले गर्नुपर्ने सबै कुरा स्पष्ट लेखेर निर्णय गर्ने नेपाली कांग्रेसका प्रवक्ता अर्जुन चौलागाईले बताउनुभयो । त्यसपछि मुख्यमन्त्री, स्वास्थ्यमन्त्री र दलहरुको संसदीय दलमा जाने काम पनि गरिने उहाँले बताउनुभयो ।