हेटौंडाः मकवानपुरको मकवानपुरगढीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी–८ की ३५ वर्षीय कल्पना थिङ स्याङ्तन रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
बिहिबार बिहान १० बजेर ३० मिनेटको समयमा सोही वडास्थित ओखरडाँडा भीरबाट एक सय मिटर तल खोल्सामा खसेर स्याङ्तनको मृत्यु भएको प्रहरीले जनाएको छ । स्याङ्तन भीरबाट लडेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
स्याङ्तनको मानशिक सन्तुलन ठिक नभएको बुझिएको प्रहरीले जनाएको छ । शवलाई बिहिबार दिउँसो २ बजेर ५० मिनेटको समयमा मुचुल्का पश्चात पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको थियो ।