सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी दिँदैको तस्वीर ।

हेटौंडाः हेटौंडाको विभिन्न स्थानमा साप्तहव्यापी कार्यक्रम गरेर विश्व वातावरण दिवस मनाइँदैछ । हेटौंडा उपमहानगरपालिकाको टोल विकास संस्था नगर समन्वय समितिले जेठ १७ गतेदेखि २३ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी वातावरण दिवस मनाउने भएको हो ।

टोल विकास संस्था नगर समन्वय समितिले पहिलेदेखि वातावरण दिवस मनाउँदै आएको छ । यस वर्ष सप्ताहव्यापी रुपमा ‘आवर ल्याड, आवर फ्युचर, वि आर जेनेरेसन रेस्टोरेसन’ भन्ने मुल नाराका साथ ५२ औं विश्व वातावरण दिवस मनाइँदैछ ।

सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन जेठ १७ गते हेटौंडा–१९, बस्तीपुरमा रक्तदान कार्यक्रम गरिने भएको छ । जेठ १८ गते हेटौंडा–१०, फरेष्ट्री गेट अगाडिबाट बसपार्कसम्म फोहोर खोज चुनौती कार्यक्रम आयोजना गरिनेछ । सोही दिन बसपार्कमा प्लाष्टिकजन्य सामग्रीहरुको बिक्री वितरण नियन्त्रण गर्न सचेतना अभियान सञ्चालन गरिनेछ ।

जेठ १९ गते नगरभरका टोल विकास संस्थाहरुमा सफा हेटौंडा अभियानअन्तर्गत् टोल विकास संस्थामा सरसफाई कार्यक्रम र वन विज्ञान अध्ययन संस्थानमा वातावरण र बालबालिकालाई नजिक्याउन प्राकृतिक वातावरणमा मेयर र उपमेयरसँग बालबालिका कार्यक्रमको आयोजना गरिने भएको छ । यस्तै, जेठ २० गते रोयल प्यालेस, हेटौंडाम ‘फोहोरमैला व्यवस्थापनमा स्थानीय नागरिकको भूमिका’ विषयक बाल क्लबस्तरीय निबन्ध लेखन प्रतियोगिताको आयोजना गरिएको छ । २१ गते हेटौंडा–४, हुप्रचौरदेखि हेटौंडा उपमहानगरपालिकाको कार्यालयसम्म वातावरणीय सचेतनामूलक साइकल ¥याली तथा सम्मान कार्यक्रम गरिने भएको छ ।

जेठ २२ गते हेटौंडा–५, मनकामना मन्दिर जाने बाटो र हेटौंडा–२, जलेश्वर मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रम र रोयल प्यालेस हेटौंडामा खेर गएका वस्तुहरुबाट उत्पादित सामग्रीहरुको प्रतिस्पर्धा कार्यक्रम रहेको छ । यस्तै, कार्यक्रमको अन्तिम दिन रोयल प्यालेस हेटौंडामा कपडाको झोला वितरण कार्यक्रम रहेको छ भने सोही दिन हेटौंडा–४, हुप्रचौरबाट सुरु भई रोयलसम्म वातावरणीय सचेतनामूलक ¥याली र सम्मान तथा पुरस्कार वितरण गरी सप्ताहव्यापी कार्यक्रमको समापन गरिनेछ । सचेतनामूलक ¥यालीमा सबैले सहभागिता जनाउन पाउनेछन् ।

उक्त कार्यक्रमका लागि हेटौंडा उपमहानगरपालिकाले ६ लाख रुपैयाँ बजेट वियोजन गरेको छ भने अन्य संघसंस्थासँग समन्वय गर्ने टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुबप्रसाद अधिकारीले बताउनुभयो । गतवर्ष वातावरण दिवसका लागि १० लाख रुपैयाँ बजेट छुट्याइएको थियो । हेटौंडामा ३ सय ६५ वटा टोल विकास संस्था रहेको छन् भने १९ वटा वडामा १७ वटा वडा समन्वय समिति रहेको छ ।