हेटौंडाः नेकपा एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशन जेठ १८ र १९ गते हुँदैछ । मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले अधिवेशनको तयारी पूरा भएको जानकारी दिनुभयो ।

अधिवेशन हेटौंडाको रोयल पार्टी प्यालेसमा हुँदैछ । अधिवेशनको उद्घाटन जेठ १८ गते शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्नुहुनेछ । अधिवेशनमा मकवानपुर जिल्लाका १० वटा पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसँग सम्बन्धित महानुभाव, पार्टीको जनवर्गीय संगठनहरुबाट सहभागिता रहनेछन् । सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउन २ सय जना स्वयम्सेवक परिचालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । अधिवेशनका लागि विभिन्न १२ वटा समितिहरु निर्माण भएका छन् ।

अधिवेशन उद्घाटनमा हेटौंडा उपमहानगर क्षेत्रमा मोटरसाइकल र्याली आयोजना हुनेछ । मकवानपुर जिल्लामा नेकपा एमालेका ११ हजार ६ सय ८४ पार्टी सदस्यबाट अधिवेशनका लागि प्रतिनिधि चयन गरिएको छ । १० वटा पालिकाको १०२ वटा वडा, मजदुर, पेशागत जनसंगठन, जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार परिषद्समेतबाट छानिएर आएका कुल ७ सय ६९ प्रतिनिधिहरुले अविधेशनमा सहभागिता जनाउनेछन् ।

अधिवेशनको बन्द सत्रवाट भावी नेतृत्वसमेत चयन हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । सम्मेलनले नेकपा एमालेको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवादको औचित्यलाई पुष्टि गर्दै सिंगो देशमा सकारात्मक सन्देश प्रवाह गर्ने उहाँको भनाइ छ ।

अधिवेशनमा विगतका कार्यको वस्तुनिष्ट समीक्षा, निर्माण हुने आगामी कार्ययोजना र कार्ययोजना दृढतापूर्वक कार्यान्वयन गर्ने नेतृत्व निर्माणको लागि प्रतिनिधि छनौट नै प्राथमिक कार्य भएको उहाँको भनाइ छ । अधिवेशनबाट ३ वर्षका लागि १ सय ५ जनाको नयाँ कार्यसमिति चयन हुनेछ । अधिवेशनले मकवानपुरको विकास र समृद्धिको लागि छलफल गर्नेछ । अधिवेशनले जिल्लामा भौगोलिक, जातीय सबैलाई समेटेर जाने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।