हेटौँडाः मकवानपुर बहुमुखी क्याम्पसले आयोजना गरेको राष्ट्रिय शैक्षिक सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलन शुक्रबार र शनिबार २ दिनसम्म सञ्चालन भएको थियो । सम्मेलनमा देशभरका ६० भन्दा बढी क्याम्पसबाट ३ सय भन्दा बढी प्राध्यापकको सहभागिता रहेको थियो ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुभएको सम्मेलनमा विभिन्न विषयमा गरिएका अनुसन्धानको प्रतिवेदन प्रस्तुत गर्नुका साथै उच्च शिक्षाका चुनौतिका विषयमा बहस गरिएको थियो । सम्मेलनमा सहभागीले प्रस्तुत गरेका प्रतिवेदन र बहसमा प्रस्तुत भएका विचारहरुलाई प्रतिवेदनको रुपमा तयार पारेर प्रदेश सरकार, संघीय सरकार र विश्वविद्यालयलाई हस्तान्तरण गरिने मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. यमबहादुर सिलवालले जानकारी दिनुभयो । “उच्च शिक्षाका चुनौति, दीगोपना र विद्यार्थीले बीचमै पढाई छाड्ने दर न्यूनीकरण” को विषयलाई सम्मेलनको प्रमुख विषय बनाइएको थियो ।
सम्मेलनकै अवसरमा मकवानपुर बहुमुखी क्याम्पस र आइडिया स्टुडियो नेपालबीच सहकार्यको सम्झौता भएको छ । विद्यार्थीको शिक्षा, अनुसन्धान र बलियो उद्यमशील प्रणालीको विकासका लागि क्याम्पस र आइडिया स्टुडियोबीच सहकार्यको सहमति भएको हो । सहकार्यसम्बन्धी सहमति पत्रमा मकवानपुर बहुमुखी क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख डा. यम बहादुर सिलवालले र आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामाले हस्ताक्षर गर्नुभयो । सहकार्यको मुख्य उद्देश्य नवप्रवर्तनमा थप टेवा पु¥याउने रहेको छ ।