स्वास्थ्य परीक्षण गर्न आएका सर्वसाधारणहरु ।

हेटौंडाः मकवानपुर र सिन्धुली जिल्लाका विभिन्न ठाउँमा साप्ताहव्यापी सञ्चालन भइरहेको स्वास्थ्य परीक्षण शिविरमा मकवानपुर जिल्लाका ४ सय ८६ जना शारीरिक अपाङ्गता भएकाको स्वास्थ्य जाँच गरिएको छ । विकलाङ्ग मित्र समूह/अपाङ्ग बाल अस्पताल पुनस्थापना केन्द्र बनेपाको आयोजना तथा मकवानपुरको सहयोमा जिल्लाभर ५ स्थानमा भएको शिविरमा शारीरिक अपाङ्गता भएका १८ वर्षसम्मका बालबालिका तथा १८ वर्षमाथि उमेर समूहका महिलाको स्वास्थ्य परीक्षण गरिएको कार्यक्रमका सुपरभाइजर रुद्रकुमार सापकोटाले जानकारी दिनुभयो ।

शुक्रबार भीमफेदीस्थित ईपा स्वास्थ्य चौकीमा भएको शिविरमा ४३ जना शारीरिक अपाङ्गता भएकाहरुको परीक्षण गरिएको छ । जाँच गरिएकामध्ये ५ जनाको शल्यक्रिया गरिनेछ । जाँच गरिएका सबैलाई औषधी वितरण गरिएको र ४ जनालाई सहायक सामग्री वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

बिहीबार भीमफेदी गाउँपालिकाको वडा न २ को कार्यालयमा भएको शिविरमा १ सय ७ जना शारीरिक अपाङ्गता भएकाहरुको परीक्षण गरिएको छ । जाँच गरिएका मध्ये ९ जनाको शल्यक्रिया गरिने भएको छ । यस्तै ६० जनालई औषधि, २ जनालाई बैशाखी, ३ जनाको कृत्रिम खुट्टा, ४ जनालाई सहायक सामग्री र ५ जनालाई लौरी वितरण गरिएको सापकोटाले जानकारी दिनुभयो । भीमफेदी गाउँपालिकाले ३ वर्षदेखि अपाङ्ग बाल अस्पताल पुनस्थापना केन्द्र बनेपाको सहयोगमा शिविर सञ्चालन गर्दै आएको छ । शल्यक्रियामा लागेको खर्च गाउँपालिकाले ब्यहोर्ने उहाँले बताउनुभयो ।
बुधबार मकवानपुरको बकैया गाउँपालिकामा भएको शिविरमा ७२ जना शारीरिक अपाङ्गता भएकाहरुको परीक्षण गरिएको छ ।

शिविर बकैया गाउँपालिका बकैया–६ स्थित बकैया आधारभूत अस्पतालमा भएको थियो । शिविरमा जाँच गरिएकामध्ये ७ जनाको शल्यक्रिया गरिने भएको छ । यस्तै एक जनालाई व्हीलचेयर, २ जनालाई सहायक सामग्री, १ जनालई बैशाखी र ५२ जनालाई औषधी वितरण गरिएको कार्यक्रमका सुपरभाइजर सापकोटाले जानकारी दिनुभयो । शिविरमा २२ जना १८ वर्षभन्दा माथि उमेर समूहका शारीरिक अपाङ्गता भएका किशोर किशोरीको परीक्षण गरिएको छ । शल्यक्रियामा लागेको खर्च बकैया गाउँपालिकाले ब्यहोर्ने उहाँले बताउनुभयो ।

यस्तै, मंगलबार मकवानपुरगढी–२, शिखरकटेरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भएको शिविरमा एक सय एक जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा जाँच गरिएका मध्ये १८ जनाको शल्यक्रिया गरिने उहाँले जानकारी दिनुभयो । बाँकी बालबालिकालाई औषधी वितरण गरिएको छ ।

यस्तै, बैशाख ३० र ३१ गते हेटौंडा उपमहानगरपालिकाको समन्वयमा हेटौंडा अस्पतालमा भएको शिविरमा १ सय ६३ जनाको चेकजाँच गरिएको छ । उपचारका क्रममा १५ जना बालबालिकालाई सर्जरीका लागि अपाङ्ग बाल अस्पताल बनेपा रिफर गरिएको, ११ जनालाई कृतिम अङ्ग प्रदान गरिनेछ भने ५८ जनालाई औषधि वितरण गरिएको उहाँले जानकारी दिनुभयो । शल्यक्रियाका लागि रिफर गरिएको बालबालिकाको हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सर्जरी गरिने छ ।

घुम्ती शिविरमा जन्मजात वा पछि खुट्टाको पैताला भित्र÷बाहिर फर्केको, खुट्टा लुलो र कमजोर भएको, जोर्नीहरू दुख्ने, सुन्निने, बाङ्गिएको वा खुस्किएको, औंलाहरू एक–आपसमा टाँसिएको वा बढी भएको समस्या परीक्षण हुनेछ । आइतबार सिन्धुलीको हरिहरपुरगढीमा र भोलि सोमबार मरिण गाउँपालिकामा घुम्ती शिविर हुने सापकोटाले जानकारी दिनुभयो । शिविरमा डाक्टर, फिजियोथेरापिष्ट, कृत्रिम अङ्ग बनाउने, स्टाफ नर्स, सीबीआरलगायतको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गर्ने जनाइएको छ ।