स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्नुहुँदै शिक्षकहरु ।

हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडाले बैशाख महिनामा झण्डै ५ सय जनाको रगत संकलन गरेको छ । केन्द्रले एक महिनामा ४ सय ६८ जनाको रगत संकलन गरेको हो । एक महिनामा विभिन्न संघसंस्थाले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ४ सय ४० जना र केन्द्रमै पुगेर २८ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक विष्णु रिमालले जानकारी दिनुभयो ।

बैशाख महिनामा १५ वटा संघसंस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेका थिए । बैशाख २ गते रामेछाप–काभ्रे मैत्री समाजले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । यस्तै, ३ गते चौघडा बचत तथा ऋण सहकारी संस्था, ४ गते युवा रेडक्रस वन विज्ञान संकाय हेटौंडा र ५ गते नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशले रक्तदान कार्यक्रम गरेका थिए । बैशाख ७ गते सिटिजन बैंक हेटौंडा शाखा, ८ गते हाम्रो गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र १० गते नेकपा एमाले मकवानपुरले रक्तदान कार्यक्रम आयोजना गरेको रिमालले बताउनुभयो ।

यस्तै, ११ गते मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, १५ गते नेपाल रेडक्रस सोसाइटी हेटौंडा ४ नम्बर उपशाखा र नेपाल टे«ड युनियन महाशाखा मकवानपुरले रक्तदान गरेका थिए । बैशाख १८ गते अखिल नेपाल औद्योगिक मजदुर संघ र एसियन पेन्ट्स प्रालि, २१ गते नेपाल लाइफ इन्सुरेन्स हेटौंडा, २२ गते सन्त निराकारी मण्डल नेपाल शाखा मकवानपुर र ३० गते सीएमसी चुरेहिल अस्पतालले रक्तदान कार्यक्रमको आयोजना गरेका थिए ।

बैशाख महिनामा केन्द्रले ३ सय १६ पोका रगत वितरण गरेको छ । वितरण गरिएको रगतमा १४ वटा सेतो रगतसमेत रहेको थियो । अहिले रक्तसञ्चार केन्द्रमा ए र ओ ग्रुपको रगत अभाव रहेको छ । आज आइतबार महालक्ष्मी विकास बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तसञ्चार केन्द्रले धेरै हेटौंडा अस्पताल, चुरेहिल अस्पताल, सञ्चो अस्पताललगायतका अस्पतालमा रगत पठाएको छ ।