हेटौँडाः आर्थिक सहयोग संकलन गर्ने उद्देश्यसहित डिस्टिङ्ग्वीस्ट जेन्टलमेन्स राइड हेटौँडामा पनि हुने भएको छ । सन् २०१२ मा अष्ट्रेलियाबाट सुरु भएको यो अभियान २०१८ देखि नेपालमा सुरु भएको हो । गत वर्षदेखि चितवन र धरानमा पनि सहयोग संकलन गर्न यात्रा तय गरिएको थियो ।
हेटौँडा इन्फिल्डर्स मकवानपुरको आयोजनामा भोलि शनिबार हुने राइडमा एक सयको हाराहारीमा सहभागिता रहने बताइएको छ । हेटौँडा इन्फिल्डर्स मकवानपुरका अध्यक्ष राजक शाहीले विभिन्न संघ, संस्थाको सहयोगमा पहिलो पटक जेन्टलमेन्स राइड गर्ने प्रयास गरिएको जानकारी दिनुभयो । पहिलो वर्ष भएकोले सहयोग रकम संकलन नगरिने उहाँको भनाइ छ । राइडमा सहभागी ४ जनालाई विभिन्न विधामा पुरस्कृत गरिने बताइएको छ । सन् २०१२ मा अष्ट्रेलियाबाट सुरु भएको जेन्टलमेन्स राइडमा यस वर्ष विश्वभरबाट मानसिक स्वास्थ्य र प्रोस्टेड क्यान्सर पीडितलाई सहयोग गर्ने उद्देश्य लिइएको छ । हेटौँडा–४ स्थित हुप्रचौरबाट सुरु हुने जेन्टलमेन्स राइड हेटौँडाको भुटनदेवी मन्दिर हुँदै नगर परिक्रमा गरी पुनः हुप्रचौरमा पुगेर टुंगिनेछ ।