हेटौँडाः जंगाली हात्तीको आक्रमणबाट मकवानपुरको मनहरी गाउँपालिका–६, प्रतापपुरका ५६ वर्षीय काले बहादुर राईको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको जंगलमा भैँसी चराउन गएका राईको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

बिहीबार बिहान १० बजेको समयमा राईसहित ३ जना स्थानीयहरु निकुञ्जमा भैँसी चराउन क्रममा हात्तीले राईलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट राईको घटनास्थलमा नै मृत्यु भएको थियो भने अन्य स्थानिय भाग्न सफल भएका थिए । राईसँग गोठाला गएका अन्य स्थानियहरुले निकुञ्ज सुरक्षाका लागि खटिएका नेपाली सेनालाई शुक्रबार बिहान जानकारी गराएका थिए । स्थानीयको खबर पश्चात सेनाले इलाका प्रहरी कार्यालय मनहरीलाई जानकारी गराएको थियो । जानकारी पश्चात प्रहरी टोली खटी गई राईको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।