हेटौंडाः नेपालका क्रिकेट प्रशिक्षक जगत टमाटाले टिमलाई जिताउन टिम कप्तानको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । बुधबार रोटरी क्लब अफ हेटौंडाको आयोजनामा खेलाडी, प्रशिक्षकहरुबीच भएको अन्तरक्रिया कार्यक्रममा खेलाडीहरुले गरेको प्रश्नको उत्तर दिनुहुँदै प्रशिक्षक टमाटाले प्रदर्शनी आफ्नो ठाउँमा भएपनि टिमलाई कसरी मजबुद बनाउन सकिन्छ भन्ने कुराको मूल्यांकन टिम कप्तानले गर्नुपर्ने बताउनुभएको हो ।
व्यवस्थापनको हिसाबमा चलेर टिम कप्तानले टिम कोअर्डिनेसन मिलाउनुपर्ने प्रशिक्षक टमाटाले सुझाव दिनुभएको हो । खेल खेल्नका लागि मैदानमा उत्रिँदा विपरीत टिमको दिमागसँग खेल्न सक्नुपर्ने उहाँले बताउनुभयो । कुनै पनि खेलाडीले बलिङ गर्ने क्रममा विपक्षीले कसरी ब्याटिङ गरिरहेको छ भन्ने कुराको ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो । ब्याट्सम्यानले गरेको प्रदर्शनीका आधारमा उनीहरुको दिमाग पढ्न सक्नुपर्ने उहाँले बताउनुभयो ।
खेलाडीहरुले प्रशिक्षणको क्रममा फरक–फरक तरिकाले खेल प्रदर्शनी गर्नुपर्ने प्रशिक्षक टमाटाले बताउनुभयो । बालबालिकालाई क्रिकेटको सुरुवात गर्ने क्रममा मनोरञ्जनको हिसाबले सिकाउन आवश्यक रहेको उहाँको भनाइ छ । कुनै पनि मानिसले आफ्नो खेलको जीवनमा सकारात्मक परिवर्तन ल्याउनका लागि ध्यान र योग गर्न जरुरी रहेको उहाँले बताउनुभयो । खेलाडीहरुले थोरै समय प्रशिक्षणमा सहभागी भए पनि दिमागलाई सक्रिय राखेर तालिम लिनुपर्ने उहाँले सुझाव दिनुभयो । कुनै प्रतियोगितामा सहभागी भएर आफूले गरेको गल्तीहरुको मूल्यांकन गरेर त्यसलाई सुधार गरेमा सबै खेलाडी उत्कृष्ट बन्नसक्ने उहाँले दावी गर्नुभएको छ ।
संस्कृतिको विकास गर्नुपर्ने र खेलाडीहरुले आफूले खेल्ने तरिकाबारे बुझ्नुपर्ने बताउनुहुँदै खेलाडीहरुले पनि रुचि देखाउन आवश्यक रहेको औँल्याउनुभयो । माथिल्लो स्तरको प्रतियोगिताहरुमा सहभागी हुँदा कस्तो परिस्थितिमा कसरी खेल्नुपर्छ भन्ने कुराका लागि खेलाडीहरुले आफैंले योजना बनाउन सक्नुपर्ने उहाँले बताउनुभयो । बलिङ अथवा ब्याटिङ गर्ने समयमा सामूहिक योजना बनाएर तालमेल मिलाउन सक्नुपर्ने उहाँको सुझाव छ ।
यु–१६ र यु–१९ प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले छुट्टाछुट्टै योजना बनाउनुपर्ने बताउनुभयो । स्थानीय स्तरदेखि नै ग्रासरुटबाट खेलाडी उत्पादन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । माथिल्लो स्तरको प्रतियोगितामा सहभागी हुँदा मानसिकता फरक बनाउनुपर्ने उहाँले बताउनुभयो । नेपालको राष्ट्रिय टिममा सहभागी हुने खेलाडीले त्यो अनुसार प्रस्तुत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
विपक्षी टिमले बलिङ गर्दा कसरी ब्याटिङ गर्ने, कुनै बललाई कसरी हान्ने भन्ने कुराको योजना खेलाडीहरुले बनाउनुपर्ने उहाँले बताउनुभयो । पछिल्लो समयमा नेपालबाट फास्ट बलिङ गर्ने बलरको संख्या घट्दै गएकाले फास्ट बलर उत्पादन गर्ने कार्यमा सबै संघहरु लाग्नुपर्ने उहाँले बताउनुभयो । फास्ट बलरमा हुने गुणहरुको पहिचान गर्न आवश्यक रहेको उहाँको भनाइ छ । राम्रो खेलाडीहरुले आफ्नो क्षमताको अभिवृद्धि गर्ने कममा लाग्नुपर्ने टमाटाले बताउनुभयो । विद्यालयस्तरबाट नै क्रिकेट खेलाडी उत्पादन गर्नका लागि विभिन्न जिल्लाका क्रिकेट संघहरुले कार्यक्रम गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
दिमागलाई स्थित बनाएर क्षमताअनुसारको मानसिकता बनाउनुपर्ने प्रशिक्षक टमाटाले बताउनुभयो । प्रतिस्पर्धात्मक प्रतियोगिता सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । खेलाडीहरुले समय तालिका बनाएर प्रशिक्षण, पढाइ, मोबाइल चलाउनेलगायतका काम गर्नुपर्ने उहाँले बताउनुभयो । प्रशिक्षणका लागि राम्रो खेलाडी, प्रशिक्षक र राम्रो वातावरण आवश्यक पर्ने बताउनुभयो ।
खेलाडीहरुले अनुशासन पनि पालना गर्नुपर्ने उहाँले बताउनुभयो । ४, ५ घण्टा प्रशिक्षणमा सहभागी भए पनि खेलाडीहरुले कसरी प्रशिक्षण लिइरहेको त्यो कुराको मध्यनजर आफैंले गर्नुपर्ने उहाँले बताउनुभयो । विद्यालयस्तरबाट खेलाडी उत्पादन कसरी गर्ने, जिल्लाबाट विभिन्न उमेर समूहका खेलाडीहरुलाई समेट्ने कुरामा लाग्नुपर्ने उहाँको सुझाव छ ।
मकवानपुर जिल्ला क्रिकेट संघका संस्थापक अध्यक्ष अरुणराज सुमार्गीले बढीभन्दा बंढी खेल खेलेर आफूलाई मजबुत बनाउन सबै खेलाडीहरु लाग्नुपर्ने बताउनुभएको छ । रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष स्वागतराज प्याकुरेलले खेलाडीहरु उत्पादन गर्नका लागि संरचना निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । कुनै पनि खेलको विकास गर्नका लागि पूर्वाधार निर्माण गर्न आवश्यक रहेको उहाँले औंल्याउनुभयो ।
कार्यक्रममा प्रदेश क्रिकेट संघका उपाध्यक्ष प्रेम क्षेत्री, जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष बासुलाल श्रेष्ठ, सचिव विनोद बानियाँ, कोषाध्यक्ष धिरज श्रेष्ठलगायत विभिन्न क्षेत्रमा आवद्ध भएका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।