कुनै समय रिफर सेन्टरको रुपमा परिचित हेटौंडा अस्पताल अहिले अस्पतालजस्तै बनेको छ । हेटौंडा अस्पतालको स्वास्थ्य उपचार सेवा विस्तार र सुधार भइरहेको छ । अस्पतालमा भौतिक पूर्वाधारमात्र नभई विशेषज्ञ चिकित्सकसहित विभिन्न रोगको उपचार सेवा थप हुँदै गएको छ । बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) मातहत हेटौंडा अस्पताललाई ल्याएपछि यसको भौतिक विकास तथा सेवा विस्तार भइरहेको हो । करिब ६ वर्षअघि हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने प्रदेश सरकारको घोषणापछि अस्पतालको स्तरोन्नति हुँदै आएको छ । आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रममा बागमती प्रदेश सरकारले हेटौंडा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने घोषणा गरेको थियो । पछिल्लो समय हेटौंडा अस्पताललाई प्रतिष्ठान मातहत नराखी सरकारी अस्पतालकै रुपमा कायम गरिनुपर्ने माग फेरि उठेको छ ।

करिब तीन वर्षअघि पनि हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग्याउने प्रयास गरिएको थियो । उक्त प्रयास सफल नभएपछि अस्पताललाई प्रतिष्ठान मातहत नै सञ्चालन गरिँदै आएको छ । तर, हेटौंडा अस्पतालको स्वामित्व प्रतिष्ठानलाई दिन लागेको भन्दै मकवानपुरका राजनैतिक दलहरुले विरोध जनाएका छन् । गत शनिबार नेकपा एमालेबाहेकका जिल्लामा क्रियाशील दलहरुले संयुक्त विज्ञप्ति जारी गर्दै हेटौंडा अस्पताललाई प्रतिष्ठान मातहतमा ल्याउन लागेको भन्दै ध्यानाकर्षण गराएका छन् । हेटौंडा अस्पतालको सम्पूर्ण सम्पत्ति र स्वामित्व प्रतिष्ठानलाई हस्तान्तरण गर्ने गरी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयमार्फत् प्रक्रिया अघि बढाएको भन्दै राजनीतिक दलहरुले विरोध जनाएका हुन् । प्रतिष्ठानले हेटौंडामै एमबीबीएससम्मको पढाइको तयारी गरेर भौतिक पूर्वाधारहरु निर्माण गरिरहेको छ । प्रतिष्ठानको आफ्नै भौतिक पूर्वाधार तयार नभएसम्मका लागि हेटौंडा अस्पताललाई प्रयोगात्मक कार्यका लागि प्रयोग गर्ने सहमति भए पनि अस्पतालको स्वामित्व नै प्रतिष्ठानलाई दिन नहुने दलहरुको धारणा छ ।

गत सोमबार सुरु भएको बागमती प्रदेशसभाको अधिवेशनमा समेत कुनै पार्टीको नेताको नाममा खोलिएको प्रतिष्ठानलाई राज्यको सम्पत्ति जिम्मा लगाउन नहुने आवाज उठेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गर्न प्रदेश सरकार अग्रसर हुनु आपत्तिजनक भएको बताएका हुन् । प्रदेश राजधानीको एकमात्र सरकारी अस्पताललाई प्रतिष्ठानमा गाभ्न नहुने उनको भनाइ छ । सोही बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेश सरकारले व्यक्तिगत स्वार्थमा लागेर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हेटौंडा अस्पताल दिन नहुने धारणा राखेका छन् । प्रदेशसभाकै बुधबारको बैठकमा नेपाली कांग्रेसका सांसद इन्द्रबहादुर बानियाँले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग राख्नुपर्ने बताएका छन् । अस्पताललाई प्रतिष्ठानबाट अलग राखेर प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई हेटौंडा अस्पतालमा प्रयोगात्मक अभ्यास गराउन सकिने बताएका हुन् ।

विगतमा कमजोर स्वास्थ्य सेवा सुविधा हुँदा हेटौंडा अस्पताल राजनीतिक दलहरुको बेवास्ताको शिकार बनेको थियो । अहिले हेटौंडा अस्पतालमा स्वास्थ्य सेवा विस्तार र सुविधा थप हुँदै गएपछि दलहरुको चासो बढेको हो । हिजो कमजोर अवस्थाको अस्पताललाई प्रतिष्ठानको मातहतमा सञ्चालन गर्न दिन सहमत भएका दलहरु अहिले अस्पतालको विकास र सेवा विस्तार हुँदै जाँदा प्रतिष्ठानबाट अलग राख्नुपर्छ भन्नु राजनीतिक दाउपेचको एउटा उदाहरण हो । स्वास्थ्य सेवामा निकै पछि परेको हेटौंडामा सुविधासम्पन्न सरकारी अस्पताल र मेडिकल कलेजसहितको स्वास्थ्य विज्ञान प्रतिष्ठान दुबै आवश्यक छ । हेटौंडा अस्पताललाई अझ सुविधासम्पन्न बनाएर सरकारी अस्पतालकै रुपमा सञ्चालन गर्ने र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अलग्गै मेडिकल कलेज बनाउन सबैको पहल हुनुपर्छ । प्रतिष्ठानको मेडिकल कलेज नबन्दासम्म निश्चित समयावधि तोकेर हेटौंडा अस्पताललाई प्रतिष्ठान मातहत सञ्चालन गर्न दिनु सान्दर्भिक हुनेछ ।