हेटौँडाः राक्सिराङ गाउँपालिकाले किसानहरुलाई मकैबाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत् कृषि सामग्री वितरण गरेको छ । आइतबार गाउँपालिकामा एक कार्यक्रमबीच मिनिटिलर र स्प्रेपम्प वितरण गरेको हो ।
गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णा डुम्रेका अनुसार वडाहरुमा मकैबाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत् उक्त सामग्री वितरण गरिएको हो । पालिकाको मकै बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत् ५० प्रतिशत अनुदानमा १५ थान मिनिटिलर र रैथाने कार्यक्रमअन्तर्गत् २५ प्रतिशत अनुदानमा ८ थान कम्बाइन मिल वितरण गरेको उहाँले बताउनुभयो । उक्त कार्यक्रमका लागि २६ जनाले आवेदन दिएको उहाँले बताउनुभयो ।
पालिकाको अधिकांश खेतीयोग्य ठाउँहरु पहाडी भूभागमा पर्ने भएकाले ठूला–ठूला ट्याक्टर जोत्न असहज हुने भएकोले उक्त मिनिटिलर वितरण गरिएको उहाँको भनाइ छ । तरकारी बालीमा किरा नलागोस् र विषादीको प्रयोग गर्न सहज वातावरण मिलाउन स्प्रेपम्प वितरण गरेको जनाइएको छ । यस्तै, गाउँपालिकाले ६ वटा कम्बाइन मिल पनि वितरण गरेको छ । यो वर्षभित्र ११ वटा मिल वितरण गर्ने लक्ष्य लिएकोमा ६ वटा वितरण गरेको हो । उक्त मिलका लागि १२ जनाले आवेदन दिएको जनाइएको छ ।
पालिकाले यसअघि तरकारी खेती प्रवद्र्धन, मकै खेती प्रवद्र्धन, थोपा सिँचाई र प्लास्टिक टनेल र मल्चिङ टनेलको कार्यक्रम सम्पन्न गरेको जनाएको छ । अब फलफूल खेती र माछाको प्रवद्र्धन कार्यक्रम गर्ने जनाएको छ । पालिकाका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षमा भएको कार्यक्रममा उपाध्यक्ष वनस्तम थिङ र प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाको उपस्थिति रहेको थियो ।