भेलामा सहभागि अभिभावकहरु ।

हेटौंडाः हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको २३ औँ अभिभावक भेला सम्पन्न भएको छ । शनिबार विद्यालयको प्रगति विवरण, शिक्षक÷विद्यार्थी सम्मानसहित अभिभावक भेला सम्पन्न गरेको विद्यालयका सहायक प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिनुभयो ।

अभिभावक भेलाको अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप पराजुली र विद्यालयका प्रधानाध्यापक निरञ्जनप्रसाद ढकालले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा २०७९ सालको एसईईमा उत्कृष्ट जीपीए ल्याउन सफल पाँचजना विद्यार्थीलाई नगद र प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

विद्यालयले ३.८ जीपीए ल्याउन सफल जिज्ञासा पौडेललाई नगद ५ हजार रुपैयाँसहित प्रशंसापत्रले सम्मान गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै ३.७५ जीपीए ल्याउन सफल त्रिशान्तकुमार कुशवाहा, ३.६५ जीपीए ल्याउन सफल अजितकुमार चौधरी र सोही जीपीए ल्याउन सफल अजीतकुमार गुप्तालाई नगद ३ हजार रुपैयाँसहित सम्मान गरिएको थियोे । यस्तै, कक्षा १२ मा सर्वोकृष्ट अङ्क ल्याउने प्रविना पौडेललाई पनि नगद ५ हजार र प्रशंसापत्रसहित सम्मान गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयका विभिन्न शिक्षक कर्मचारीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । सम्मानित हुने मावि तहका शिक्षक माधवप्रसाद गौतम, निमावि तहका कमल पाल अधिकारी, प्रावि तहका विमलकुमार घिमिरे, कर्मचारी राधिका देउला र संयोजक सुदी पौडेललाई पनि सम्मान गरिएको छ । यस्तै, कक्षा १२ को परीक्षामा शतप्रतिशत विद्यार्थी पास गराउने शिक्षक ज्योति न्यौपाने र मञ्जु खनालाई पनि सम्मान गरिएको थियो । विद्यालयका नयाँ शिक्षकलाई स्वागत गरिएको थियो भने विद्यालयबाट सरुवा भई अन्यत्र गएका शिक्षकहरुलाई योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्य तथा उपप्रमुख राजेश बानियाँको विशिष्ट आतिथ्यमा भएको हो । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो । अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिको पुनर्गठन हुन लागेको पराजुलीले जानकारी दिनुभयो । कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा नयाँ शैक्षिक सत्रमा २२५ जना विद्यार्थी भर्ना भएको उहाँले बताउनुभयो ।