‘गोधुली गीत’ उपन्यासको समीक्षात्मक टिप्पणी गर्नुहुँदै साहित्यकार देवराज तिवारी ।

हेटौंडाः भानु बोखिमको ‘गोधुली गीत’ उपन्यासमाथि विमर्श भएको छ । शुक्रबार साहित्य संगम मकवानपुरको आयोजनामा भएको विमर्श कार्यक्रममा गोधुली गीतमाथि देवराज तिवारी र सुन्दर दहालले समीक्षात्मक टिप्पणी गर्नुभएको हो ।

साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्ष तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यमा विमर्श कार्यक्रम भएको थियो । समीक्षक तिवारीले उपन्यासमा ६२ वटा शीर्षकमा जनयुद्धलाई वयान गरिएको बताउनुभएको छ । रोल्पाको सशस्त्र द्वन्द्वलाई उठान गरेको समीक्षक तिवारीले बताउनुभयो ।

उपन्यासमा काल्पनिक दृष्टिकोणले ३ वटा कुराहरुलाई समेटेको उहाँले बताउनुभयो । संविधानसभाको निर्वाचन भएपछि राजनीतिक नेतृत्वमा देखिएको दृष्टिकोणलाई प्रश्नको रुपमा उब्जाउने तहमा पुगेको उहाँको भनाइ छ । नारीकेन्द्रित उपन्यासको सिर्जना गरेको उहाँले बताउनुभयो । युद्धको घटनालाई यथार्थ देखाउन खोज्दा प्रहरीको गरेको ज्यादतीलाई नसमेटिएको उहाँको भनाइ छ ।

१० वर्षसम्मको सशस्त्र द्वन्द्वको कुरामा क्रान्तिकारी विवाहको पक्षलाई उल्लेख नगरिएको बताउनुहुँदै निर्जलाले निर्वाह गरेको भूमिकाअनुसार चित्र बनावट नमिलेको बताउनुभयो । १० वर्षसम्मको द्वन्द्वको प्रभावलाई पनि उपन्यासमा समेट्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो । अर्का समीक्षक दहालले उपन्यासमा समेटिएको कुराहरुलाई हेर्दा द्वन्द्वको कुराहरुलाई गहिरिएर समेट्न नसकेको बताउनुभएको छ । जनयुद्धको कुराहरु आफूले भोगेकाले नामहरु राम्ररी नसमेटिको बताउनुभयो । जनयुद्धको कतिपय घटनाहरुलाई समग्रमा लान नसकेको उहाँको धारणा छ ।

बालबालिकालाई चिठी बोकाएर काम गराउने गरेको बताउनुहुँदै खड्कबहादुरको कुराहरुलाई राम्ररी उठान गर्न नसकेको उहाँले बताउनुभयो । वि.स. २०५८ सालको दरबार हत्याकाण्ड उपन्यासमा नसमेटिएको उहाँको भनाइ छ । ईश्वरी पुरा मगरको ठाउँबारे र दाङ जिल्लामा भएको आक्रमणको कुराहरुलाई नसमेटिएको उहाँले बताउनुभयो ।

गोधुली गीतका सर्जक भानुले लेखकको दृष्टिकोणले आफू सबै घटनाहरुसँग सम्बन्धित नभएकाले धेरै कुराहरु छुट्न पुगेको बताउनुभएको छ । विभिन्न घटनाका कुराहरुलाई खोज गर्दा पनि नभेटिएकाले सबै कुराहरुलाई समेट्न नसकेको उहाँको भनाइ छ । कार्यक्रमका प्रमुख अतिथि निखिलले उपन्यासले सबै कुराहरु नल्याउने भएकाले धेरै कुराहरुको उठान गर्न मुस्किल भएको बताउनुभयो । राजनीतिक चेतनालाई ग्रासरुटसम्म पुर्याउन ठूलो भूमिका निर्वाह गरेको बताउनुभयो ।