Home अर्थ/व्यापार नक्कली नोटसहित ५ जना पक्राउ

नक्कली नोटसहित ५ जना पक्राउ

नक्कली नोटसहित पक्राउ परेका पाँच जना ।

हेटौँडाः ५५ हजार नक्कली नोटसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–९ का १८ वर्षीय सीताराम थिङ, हेटौँडा–१४ घर भई हेटौँडा–४ मा डेरा गरी बस्ने ३७ वर्षीय सुनिल ढुङ्गाना, १८ वर्षीय रोजल ढुङ्गाना, मकवानपुरगढी गाउँपालिका–४ बस्ने २० वर्षीय सोमराज थोकर र २८ वर्षीय रामेश्वर अर्याल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

बुधबार बेलुका ८ बजेको समयमा प्रहरी चौकी नामटारबाट खटिएको प्रहरी टोलीले पसलमा सामान खरिद गर्दै गरेको अवस्थामा कैलाश गाउँपालिका–९ बाट थिङलाई पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा थिङले दिएको जानकारीका आधारमा बिहीबार ४ जनालाई नक्कली नोटको कारोबारमा संलग्न भएको भनी प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट प्रहरीले नेपाली १००० दरका ५५ हजार रुपैयाँ बरामद गरेको थियो । नक्कली नोटको कारोबारमा संलग्न पाँचै जनालाई मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।