पशुपति मन्दिरको सरसफाइ पश्चात सामुहिक तस्वीर खिचाँउदै ।

हेटौंडाः नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले हेटौंडा–४, हुप्रचौरस्थित पशुपति मन्दिरको सरसफाइ गरेको छ । बुधबार विश्व रेडक्रस दिवसको अवसरमा मन्दिर परिसरमा सरसफाइ गरेको रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका उपमन्त्री शिवहरि दहालले जानकारी दिनुभएको हो ।

रेडक्रस सोसाइटीले मानवतालाई जीवित राखौं भन्ने उद्देश्यले वार्षिक कार्यक्रमअनुसार मानिसहरुलाई सन्देश प्रदान गर्नका लागि सरसफाइ कार्यक्रम आयोजना गरेको उपमन्त्री दहालले बताउनुभयो । पशुपति मन्दिमा नै उपशाखा भएको कारणले वार्षिक कार्यक्रमअनुसार मन्दिरको परिसर सरसफाइ गरेको उहाँको भनाइ छ ।

सोसाइटीमा आवद्ध भएका कार्यसमिति सदस्य र आजीवन सदस्यहरुसँग मिलेर सरसफाइ गरेको उहाँले बताउनुभयो । सरसफाइ कार्यक्रममा रेडक्रस हेटौंडा शाखाले पशुपति मन्दिरको नवनिर्वाचित कार्यसमितिलाई स्वागतसमेत गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी हेटौंडाका सभापति किशन घिसिङको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा सरसफाइ कार्यक्रम भएको हो । कार्यक्रम रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका उपमन्त्री शिवहरि दहाल र पाशुपति मन्दिरका अध्यक्ष जगन्नाथ पाण्डेको विशिष्ट आतिथ्य रहेको थियो ।