हेटौंडाः सवारी दुर्घटनामा एकै दिन ३ जनाको मृत्यु भएको छ । बागमती प्रदेशको नुवाकोटमा २ जना र सिन्धुलीमा एक जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–८, शिरखालीमा बसमा २ वटा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मंगलबार गल्छी–त्रिशुली सडक खण्डमा देवीघाटबाट काशीटारतर्फ जाँदै गरेको बा ३ क ३७२२ नम्बरको स्कूल बस टर्निङ गर्ने क्रममा देवीघाटबाट गल्छीतर्फ जाँदै गरेको बा प्र ०२–०४६ प १५२९ र बा प्र ०२–०४४ प ३६९२ नम्बरको मोटरसाइकल बसमा ठाक्किँदा मोटरसाइकलमा सवार ४ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
बा प्र.०२–०४६ प १५२९ नम्बरको मोटरसाइकल चालक काठमाडौंका २७ वर्षीय रुबिन रावल र सोही मोटरसाइकलमा सवार ललितपुर जिल्लाका २६ वर्षीय स्वीकार रानाको उपचारको क्रममा टिचिङ अस्पताल काठमाडौंमा मृत्यु भएको छ । बा प्र ०२–०४४ प ३६९२ नम्बरको मोटरसाइकल चालक काठमाडौं जिल्लाका २५ वर्षीय उपकार थापा र मोटरसाइकलमा सवार २७ वर्षीय ऋतिक तिवारीको ग्राण्डी अस्पतालको आइसीयूमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, सिन्धुली जिल्लाको दुधौली नगरपालिका–७, सुगारेमा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षीय बिनोद सदा रहेको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार मदन भण्डारी राजमार्गमा खोरभञ्ज्याङबाट कटारीतर्फ जाँदै गरेको ना ६ त २५२९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार सदा र २५ वर्षीय हरिकीर्तन अधिकारी घाइते भएका थिए । घाइते दुबैलाई उपचारका लागि कटारी अस्पताल लगिएकोमा सदाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।