तालिम समापनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः प्राथमिक तहका बालबालिकाको सिकाइ क्रियाकलापमा आधारित ३ दिने तालिम सम्पन्न भएको छ । ब्रिटिस एण्ड फरेन स्कूल सोसाइटी (सबैलाई शिक्षाको अवसर) र चाइल्ड रेस्क्यू नेपालको आर्थिक साझेदारी, इस्थर बेञ्जामिन स्मृति संस्थाको आयोजना तथा बकैया गाउँपालिकाको समन्वयमा बुधबारदेखि सुरु भएको तालिम शनिबार सम्पन्न भएको इस्थर बेञ्जामिन स्मृति संस्थाको मकवानपुर जिल्ला कार्यक्रम संयोजक बुद्ध लामाले जानकारी दिनुभयो ।

तालिममा बकैया गाउँपालिकाका प्राथमिक तहका ५५ जना महिला शिक्षक र ११ जना पुरुष शिक्षकको सहभागिता रहेको थियो । तालिममा प्राथमिक तहका बालबालिकाहरुलाई खेल्दै सिक्दै गर्ने विभिन्न ३६ वटा क्रियाकलापहरुको शैक्षिक सामग्रीहरुको प्रदर्शन गरिएको थियो । सिकाइ क्रियाकलापलाई आगामी दिनमा बकैया गाउँपालिकाका सबै विद्यालयका पुर्याउने र पालिकाले साझेदार संस्थासँग सहकार्य गरी अगाडि बढाउने प्रतिबद्धतासमेत गरिएको लामाले जानकारी दिनुभयो ।

कार्यक्रममा बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सामाजिक विकास संयोजक गोपाल न्यासुर, बकैया वडा नम्बर ८ का वडा अध्यक्ष विष्णु रेग्मी, बकैया गाउँपालिका १२ का वडा अध्यक्ष ज्ञानेन्द्र बजगाई, चाइल्ड रेस्क्यू नेपालका निर्देशक भाष्कर कार्की, बकैया शिक्षा शाखा प्रमुख आइतराम तामाङ, स्रोत शिक्षक नारायण चापागाई र कार्यक्रम व्यवस्थापक बुद्ध लामाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण पवन अधिकारीले गर्नुभएको थियो । शिक्षकको पूर्ण सहभागिताका लागि सौराहामा तालिम राखिएको इस्थर बेञ्जामिन स्मृति संस्थाका कार्यक्रम संयोजक बुद्ध लामाले बताउनुभयो ।