हेटौंडाः सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) हेटौंडा १४ नम्बर गण हेडक्वार्टर मकवानपुर र कर्मचारी मिलन केन्द्र मकवानपुरबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारीको टोली विजयी भएको छ । शनिबार हेटौंडा–८ स्थित हेटौंडा औद्योगिक क्षेत्रको खेलमैदानमा भएको खेलमा एपीएफलाई २–१ गोलले हराउँदै कर्मचारी टिम विजयी भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल हेटौंडा १४ नम्बर गण हेडक्वार्टर मकवानपुरको १४ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् शनिबार मैत्रीपूर्ण फुटबल भएको हो । गत बैशाख १७ गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् सुरुको दिनमा हेटौंडा अस्पतालमा सरसफाई गरिएको थियो । यस्तै, १८ गते आन्तरिक टेबलटेनिस खेल, १९ गते आन्तरिक खेलकुद र २० गते अन्तरगुल्म हाजिरीजवाफ प्रतियोगिता आयोजना भएको थियो । कार्यक्रम आगामी बुधबारसम्म सञ्चालन हुनेछ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी एवम् कर्मचारी मिलन केन्द्र मकवानपुरका संरक्षक सूर्यप्रसाद सेडाईको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–८ का वडाध्यक्ष रामकृष्ण थापा, ९ नम्बर वडाध्यक्ष सुकराम केसी, सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढीमाई बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेशबहादुर ठाडा मगर र १४ नम्बर गण हेटौंडाका गणपति सशस्त्र प्रहरी उपरीक्षक ज्ञानप्रसाद भुर्तेललगायतको आतिथ्य रहेको थियो ।