नवनियुक्त प्रधानाध्यापक ललन कुमार पाण्डे ।

हेटौंडाः हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)को प्रधानाध्यापकमा ललनकुमार पाण्डे नियुक्त हुनुभएको छ । मंगलबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले पाण्डेलाई प्रधानाध्यापकमा नियुक्त गरेको हो ।

पाण्डेले वंशगोपाल माविमा वि.सं २०४९ भदौ १ गते माध्यमिक तह अस्थायी दरबन्दीमा गणित र विज्ञान शिक्षकका रूपमा अध्यापन कार्य सुरु गर्नु भएको थियो । सोही विद्यालयमा पाण्डे २०६३ असोज १ मा माध्यमिक तहमा स्थायी नियुक्ति लिनुभएको थियो भने २०७० माघ २४ गते माध्यमिक द्वितीय श्रेणीमा बढुवा हुनुभएको थियो । पाण्डे यसअघि २०६९ साउन १ गतेदेखि नै विद्यालयमा सहायक प्रधानाध्यापकको जिम्मेवारीमा रहनुभएको थियो ।

यसअघिका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले गत चैत २६ गते अवकाश पाएसँगै पाण्डे प्रधानाध्यापकमा नियुक्त हुनुभएको हो । लामिछानेले उमेर हदले अवकाश पाएसँगै निमित्त प्रधानाध्यापकको रूपमा पाण्डेले कार्य गर्दै आउनुभएको थियो । पाण्डेले गणित विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा ५० जना शिक्षक कर्मचारी रहेका छन् भने १ हजार २ सय जना विद्यार्थीहरू अध्ययनरत रहेका छन् । विद्यालयमा नर्सरी कक्षादेखि ६ कक्षासम्म अंग्रेजी माध्यमबाट अध्यापन हुने गरेको छ भने कक्षा ६ देखि १० सम्म अंग्रेजी र नेपाली दुबै माध्यमबाट अध्यापन हुने गरेको छ । विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, शिक्षा, वाणिज्य संकायमा अध्यापन हुँदै आएको छ ।
विद्यालयमा भौतिक सुधारका कार्य पूर्णजस्तै रहेको बताउँदै शैक्षिक क्षेत्रमा सुधारका कार्य गर्दै जाने पाण्डेले जानकारी गराउनुभयो । विद्यालयमा प्राविधिक शिक्षा अध्यापन हुने गरेकाले अपुग रहेका प्रयोगशाला निर्माण गर्ने, विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा जोड दिने योजना रहेको पाण्डेको भनाइ छ ।

विद्यालयले आगामी दिनमा उच्चस्तरको शिक्षा प्रदान गरी उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने लक्ष्य रहेको पाण्डेले बताउनुभयो । विद्यालयमा शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिसँग सहकार्य गर्दै शैक्षिक गुणस्तरलाई जोड दिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।