जिल्ला अदालत मकवानपुर ।

हेटौंडाः मकवानपुरमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म ६ सय २७ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको छ । जिल्ला अदालत मकवानपुरको तथ्याङ्कअनुसार नौ महिनामा ६ सय २७ वटा मुद्दा दर्ता भएको हो ।

जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार लेखनाथ पौडेलका अनुसार उक्त मुद्दामध्ये ४ सय ३६ वटा मुद्दाको फछ्र्यौट भएको छ । फछ्र्यौट भएकामध्ये ९९ प्रतिशतको सम्बन्धविच्छेद भएको छ । उहाँका अनुसार बालविवाह, अन्तरजातीय विवाह, गरिबी र चेतनाको कमीका कारण सम्बन्धविच्छेदका घटना बढ्ने गरेको छ ।

चुनौतीको सामना गर्न नसक्दा, एकअर्काको अविश्वास र शोषण नसहँदा सम्बन्धविच्छेदको अवस्थामा पुग्ने गरेको श्रेस्तेदार पौडेलले बताउनुभयो । पछिल्लो समय शिक्षित वर्गमा पनि सम्बन्धविच्छेदका घटना बढेको उहाँको भनाइ छ । पछिल्लो समय पुरुषले पनि सम्बन्धविच्छेदका लागि निवेदन दिन पाउने भएपछि मुद्दाको संख्या बढेको उहाँको भनाइ छ ।