हेटौँडाः विद्यालय तहसँगै विश्वविद्यालय तहको शैक्षिक सुधारका लागि मकवानपुर बहुमुखी क्याम्पसले जिल्लाका १० वटै पालिका प्रमुख तथा उपप्रमुखसँग सहकार्यका लागि अग्रसरता देखाएको छ । सोमबार बिहान मकवानपुर बहुमुखी क्याम्पसमै पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा जिल्लाको विद्यालय तह र विश्वविद्यालय तहको शैक्षिक सुधारको विषयमा अन्तरक्रिया गरेको छ ।
विद्यालय तह र विश्वविद्यालय तहको शिक्षा सुधारका लागि मकवानपुर बहुमुखी क्याम्पसले पालिकासँग सहकार्यको प्रयास सुरु गरेको मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. यमबहादुर सिलवालले जानकारी दिनुभएको छ । विद्यालय तहको शिक्षा सुधारका लागि पालिकालाई मकवानपुर बहुमुखी क्याम्पसले सहयोग गर्ने, विश्वविद्यालय तहमा अध्ययन गर्ने पालिकाका विद्यार्थीलाई सहयोग गरी मकवानपुर बहुमुखी क्याम्पससँग पालिकाले सहकार्य गर्ने विषयमा छलफल भएको क्याम्पस प्रमुख सिलवालले जानकारी दिनुभयो । “विद्यालय तहमै गुणस्तरीय शिक्षाका लागि क्याम्पसले पालिकासँग सहकार्यको सम्झौता गरेर अगाडि बढ्ने, नमूनाको रुपमा एउटा पालिकाबाट एउटा विद्यालय छनोट गरेर मकवानपुर क्याम्पसले सहयोग गर्ने विषय प्रस्ताव गरेका छौं”, क्याम्पस प्रमुख सिलवालले भन्नुभयो, “विश्वविद्यालय तहको शिक्षा हासिल गर्ने आफ्नो पालिकाका विद्यार्थीलाई पालिकाले सहयोग गर्ने, मकवानपुर क्याम्पससँग सहकार्य गर्ने प्रस्ताव गरेका छौं ।”
विश्वविद्यालय तहको अध्ययन गर्ने विद्यार्थीलाई पालिकाले छात्रवृत्ति उपलब्ध गराउँदै रोजगारीको अवसर समेत सिर्जना गर्ने विषयमा पनि छलफल भएको क्याम्पस प्रमुख सिलवालको भनाइ छ । मकवानपुर क्याम्पसले जिल्लाका पालिकाका प्रमुख र अध्यक्षलाई क्याम्पस सभा सदस्यको रुपमा रहने व्यवस्था गर्ने गरी विधान संशोधन गर्ने बताइएको छ । जिल्लाको शैक्षिक सुधारसम्बन्धी क्याम्पसको प्रस्तावप्रति पालिकाका प्रमुख, उपप्रमुखहरु सकारात्मक रहेको र सहकार्यको प्रतिवद्धता व्यक्त गरेका छन् ।
यस्तै मकवानपुर बहुमुखी क्याम्पसले आगामी जेठ ११ र १२ गते हेटौँडामा उच्च शिक्षाका चुनौति विषयक राष्ट्रिय सम्मेलन गर्दैछ । सम्मेलन आयोजक समितिमा पालिकाहरुलाई पनि समावेश गर्ने र सहकार्यका लागि प्रस्ताव गरिएको छ । मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले मकवानपुर बहुमुखी क्याम्पसको वस्तुस्थिति र आगामी योजनाका बारेमा जानकारी गराउनुभएको थियो । कक्षा–११, १२ सँगै स्नातक र स्नात्तकोत्तर तहको अध्ययन, अध्यापन हुने मकवानपुर बहुमुखी क्याम्पसका ६ हजार विद्यार्थी अध्ययनरत छन् । मकवानपुर बहुमुखी क्याम्पसलाई बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालयको रुपमा विकसित गर्ने निर्णय समेत गरेको छ । छलफलमा क्याम्पस सञ्चालक समितिका पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।











