हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाका एक वृद्धालाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले घरमै पुगेर नेपाली नागरिकता प्रदान गर्नुभएको छ । राक्सिराङ–७ बस्ने १०४ वर्षीया ज्येष्ठ नागरिक माजनी प्रजालाई घरमै पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरिएको हो ।
शुक्रबार प्रजाको घरमै पुगेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी सेढाईले जानकारी दिनुभयो । गृह मन्त्रालयले कार्यालयबाहेक अन्यत्र लगेर नागरिकता नदिनु भनेता पनि नागरिकता कार्यालयमा नै तयार पारेर प्रजाको घरमा नै पुगेर नागरिकता प्रदान गरेको उहाँले बताउनुभयो ।
प्रजाले १०४ वर्ष पुग्दासमेत नागरिकता प्राप्त गर्नुभएको थिएन । वि.सं १९७७ भदौ १२ गते जन्मनु भएका प्रजा सामान्यतया नेपाली भाषासमेत बुझ्न नसक्ने हुनुहुन्छ । प्रजाका श्रीमान् शार्सी प्रजाको वि.सं २०४२ सालमा नै मृत्यु भएको थियो । प्रजा शार्सीका तेस्रो श्रीमती हुन् । उहाँका कोही पनि सन्तान छैनन् । केही वर्ष अघिसम्म गाउँका अरु मानिसको घरमा बस्दै आउनुभएकी प्रजा अहिले उहाँको सौतेनी पनातिनी मंगलीमाया प्रजाको घरमा बस्दै आउनुभएको छ ।
प्रजाका सौतेनी छोरा बुहारीको समेत मृत्यु भइसकेको ७ नम्बर वडाका वडा अध्यक्ष रामबहादुर प्रजाले जानकारी दिनुभयो । वडा अध्यक्ष रामबहादुरले भन्नुभयो, ‘प्रजाको सन्तान छैनन् । सन्तान त जन्मेका थिए, सानैमा बिते । प्रजाको श्रीमानले ३ वटा विवाह गर्नुभएकोमा प्रजा कान्छी श्रीमती हुन् । प्रजाको कोही पनि नभएकाले गाउँलेहरुको घरमा बस्दै आउनुभएको थियो, केही समय मेरो घरमा समेत बस्नुभयो ।’ सौतेनी पनातिनी मंगलीमाया विवाह गरेर गाउँमा आउनुभएपछि अहिले प्रजा उहाँकोे घरमा बस्दै आउनुभएको वडा अध्यक्ष रामबहादुले जानकारी दिनुभयो ।
पनातिनीसँग सोधपुछ गरी मुचुल्कापश्चात् उहाँलाई नेपाली नागरिकता प्रदान गरिएको हो । नेपालको संविधानको भाग २ (धारा १० देखि १५) मा नागरिकतासम्बन्धी व्यवस्था रहेको छ । जसमा नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित नगरिने व्यवस्था रहेको भए पनि प्रजा भने हालसम्म नागरिकताबाट वञ्चित रहनुभयो । नेपाल सरकारले एकल महिलालाई भत्ताको समेत व्यवस्था गरेकोमा प्रजाको नागरिकता नहुँदा उक्त सुविधाबाट समेत वञ्चित हुनुभएको थियो । प्रजाले नागरिकता प्राप्त गरेसँगै सरकारले दिने सेवा सुविधाहरु प्राप्त गर्नुहुनेछ ।