हेटौँडाः हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको कान्ति लोकपथ दैनिक ३ घण्टा मात्र सञ्चालनमा आउने भएको छ । सडक मर्मतका लागि भन्दै ४५ दिनदेखि बन्द रहेको यो सडक काम पूरा नभएकाले दिनमा ३ घण्टा मात्र सवारी साधन आवत–जावतका लागि खोलिने भएको हो ।
सडक निर्माणको काम बिहान ६ बजेदेखि ९ बजेसम्म र मध्याह्न १२ बजेदेखि अपराह्न ६ बजेसम्म दुई सिफ्टमा काम गर्ने आयोजनाले जनाएको छ । उक्त सडकमा छ चक्के भन्दा माथिका मालवाहक सवारी सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ । मर्मत–सम्भारका लागि काल्चेदेखि बगुवा खण्डसम्म चैत १ गतेदेखि बन्द गरिएको सडक अहिलेलाई बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा सवारीसाधनका लागि खुला रहने भएको छ । सडक निर्माणका लागि जेठ १५ गतेसम्म बिहान ३ घण्टासम्म खुल्ने भएको हो । कान्ति लोकपथको डेढ किलोमिटर खण्डमा सडक चौडा गर्न लागिएको छ । सडक माथिका चट्टान काट्न बाँकी रहकोले निर्माण कार्य जारी रहेको आयोजनाले जनाएको छ ।