हेटौँडाः हेटौँडा–५, सानोपोखरास्थित सिद्धार्थ शिशु सदन माविमा आँखा शिविर भएको छ । शुक्रबार विद्यालयको आयोजना तथा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर भएको हो ।
शिविरमा ३ सय ३ जनाको आँखा परीक्षण गरिएकोमा २७ जना विद्यार्थीमा समस्या देखिएको विद्यालयका शिक्षक सुन्दर लुइटेलले जानकारी दिनुभयो । विद्यालयले पहिलो चरणमा शुक्रबार नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुको आँखा परीक्षण गरिएको हो । दोस्रो चरणमा आगामी शुक्रबार बाँकी विद्यार्थीको आँखा परीक्षण गर्ने जनाएको छ ।
कोरानाको समयपछि बढी विद्युतीय सामग्री प्रयोग गर्दा बालबालिकामा आँखा र टाउको दुख्ने समस्याहरु बढी देखा परेकोले शिविर आयोजना गरेको विद्यालयले जनाएको छ । शिविरमा तिलगंगा आँखा अस्पतालका सुशीलकुमार सिंह, विद्यालयका प्रधानाध्यापक निर्मल पराजुली र सहायक प्रधानाध्यापक केदार न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।