अभिभावक विद्यार्थीलाई सम्मान पश्चात सामुहिक तस्वीर खिचाउँदै

हेटौंडाः हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयले उत्कृष्ट विद्यार्थी, शिक्षक एवम् अभिभावकलाई सम्मान गरेको छ । वडाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट आधारभूत तह (कक्षा–८) को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र शिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

शुक्रबार शैक्षिक गुणस्तर सुधार समिति, हेटौंडा–४ को व्यवस्थापनमा भएको विद्यार्थी, शिक्षक र अभिभावक सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाभित्रका सामुदायिक र संस्थागत विद्यालयबाट कक्षा ८ को परीक्षामा ४.०० जीपीए ल्याउन सफल विद्यार्थीलाई नगद ५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ । ४.०० जीपीए ल्याउने भूटनदेवी माध्यमिक विद्यालयका अमनकुमार साह बानिया र शुभम्प्रसाद जैसवाललाई सम्मान गरिएको छ । ४.०० जीपीए ल्याएर सम्मानित हुनेमा नवोदय शिशु सदनका लिजा विष्ट र प्रजन्य कुशवाह छन् । यस्तै, ब्रह्मदिक एकेडेमीका प्रियान्सु पोखरेल, कृष्मा लौंडारी, आभाष घिमिरे श्रीया घोष र सुबोधकुमार आचार्यलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

आधारभूत तह उत्तीर्ण परीक्षामा विषगतरुपमा सर्वोत्कृष्ट अंक ल्याउन सफल भएका विद्यार्थी र उनीहरुलाई अध्यापन गराउने शिक्षकलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको छ । नेपाली विषयमा सर्वोत्कृष्ट अंक ल्याउने आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका छात्रा ममताकुमारी चौहान र नेपाली विषय शिक्षक बिना बिडारी सम्मानित हुनुभएको छ । अंग्रेजी विषयमा सर्वोत्कृष्ट अंक ल्याउने ब्रह्मदिकका दिव्यान्स शाही र कृष्मा लौंडारी, नवोदय शिशु सदनका लिजा विष्ट एवम् भूटनदेवी माविका सुनैना घिमिरे, विश्वास राई र सन्देशकुमार यादव सम्मानित भ

यस्तै, सामाजिक विषयमा सर्वोत्कृष्ट अंक ल्याउन सफल भएका ब्रह्मदिकका विद्यार्थी आभाष घिमिरे र दिव्यान्स शाहीलाई सम्मान गरिएको छ । विज्ञान तथा प्रविधि विषयमा सर्वोत्कृष्ट अंक ल्याउने व्रह्मदिककै कृष्मा लौंडारीलाई नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य तथा शारीरिक विषयमा व्रह्मदिकका विद्यार्थीहरु आभाष घिमिरे, कृष्मा लौंडारी, दिव्यान्स शाही, श्रीया घोष र विगित थापा मगर सम्मानित भएका छन् ।

शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दहालको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख लामाले कुनै पनि राजनीतिक दलबाट निर्वाचित व्यक्तिले जनताको पक्षबाट काम गर्नुपर्ने बताउनुभएको छ । ४ नम्बर वडाले शिक्षा क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै नगरप्रमुख लामाले पछिल्लो समय लागूऔषध दुव्र्यसनी बढेकोमा चिन्ता व्यक्त गर्नुभयो । सरकारले कानुनी ढंगबाट लागूऔषध दुव्र्यसनविरुद्ध काम गरे पनि पछिल्लो समय हेटौंडामा लागूऔषधको दुव्र्यसनी बढिहरेको उहाँले बताउनुभयो । लागूऔषध दुव्र्यसनको समस्या न्यूनीकरण गर्ने काममा सबै लाग्नुपर्ने उहाँको भनाइ छ ।

४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले आफ्नो वडाले शिक्षा क्षेत्रमा विभिन्न रचनात्मक काम गरेर शैक्षिक आन्दोलन सुरु गरेको बताउनुभयो । उहाँले वडाले शिक्षा क्षेत्रमा पर्याप्त बजेट खर्च गर्दै आएको भन्दै संस्थागत र सामुदायिक दुबै विद्यालयको शैक्षिक स्तर सुधारमा केन्द्रित भएको बताउनुभयो । वडाले विद्यार्थी, शिक्षक र अभिभावक सबै पक्षको सबलीकरणबाट शैक्षिक गुणस्तर वृद्धि गर्दै वडालाई देशकै शैक्षिक केन्द्र बनाउने दावी गर्नुभयो ।

कार्यक्रममा वडा–१० का अध्यक्ष फुर्वा दोर्जे लामा, वडा–११ का अध्यक्ष जुना दहाल, हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशी, हेटौंडा क्याम्पसका क्याम्पस प्रमुख देवीराम लामा, आधुनिक राष्ट्रिय माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहम्मद समीम, ४ नम्बर वडा सदस्य जेन श्रेष्ठ, टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरि दहाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा १४ नम्बर वडा अध्यक्ष दीपक खड्का, हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य इश्वरी रसाइली, शिक्षा विकासा महाशाखाका अधिकृत हरिश्चन्द्र सापकोटालगायतको आतिथ्य थियो ।