हेटौँडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७ मा ७ कक्षाको वार्षिक परीक्षाको परीक्षाफल लिएर घर फर्कँदै गरेकी दुई दिदीबहिनीलाई अपहरण गरी जबर्जस्तीकरणीको घटना भएको छ । प्रहरीले घटनामा संलग्न २ जनालाई पक्राउ गरेको छ ।
गत चैत २५ गते विद्यालयबाट परीक्षाफल लिएर फर्कँदै गरेकी दुई दिदीबहिनी घर जान भनी टिपरमा चढेका थिए । टिपरमा चढेकी दिदीबहिनीलाई अपहरण गरी चालक र सहचालकले अर्को टिपरमा पठाएका थिए । पछिल्लो टिपरका चालक र सहचालकले दिदीबहिनीमाथि नै जबर्जस्तीकरणी गरेर रातभर कब्जामा राखेको बुझिएको छ । भोलिपल्ट फेरि दिदीबहिनीलाई अघिल्लो टिपर चालकको जिम्मा लगाइएको थियो । चैत २६ गते दिदीलाई मात्र टिपरभित्रै जबर्जस्तीकरणी भएको थियो । जबरजस्तीकरणीपछि चैत २७ गते पीडित दिदीबहिनीलार्ई जबर्जस्तीकरणी गर्ने टिपर चालकले घरमै लगेर छोडिदिएका थिए ।
आरोपित दुई जना चालकविरुद्ध चैत २९ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएकै साँझ टिपर चालकहरु गणेश ग्याबा र सुशान्त गोलेलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । घटनाबारे प्रहरीले थप जानकारी सार्वजनिक गर्न चाहेको छैन । प्रहरी निरीक्षकले उनीहरुमाथि अनुसन्धान भइरहेको जानकारी दिएका छन् । बालमैत्री घोषित मकवानपुरगढी गाउँपालिकामा किशोरी दिदीबहिनीमाथि भएको गम्भीर अपराधको विषयमा गाउँपालिकाका प्रमुख, उपप्रमुखसहित महिला बालबालिका शाखाको पनि ध्यानाकर्षण भएको बुझिएको छ । पीडित किशोरी अहिले सुरक्षित छन् । उनीहरुलाई मनोसामाजिक परामर्शसहित सुरक्षित स्थानमा राखिएको बुझिएको छ ।