हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाँउपालिकाले शिक्षक बैंक स्थापना गर्ने भएको छ । पालिकाले सोमबार एक सूचना जारी गर्दै शिक्षक बैंक स्थापना गर्ने जनाएको हो ।
पालिका शिक्षा समितिको गत चैत्र १७ गतेको निर्णयअनुसार ‘शिक्षक बैंक ब्यवस्थापन कार्यविधि, २०८०’ बमोजिम शिक्षक बैंक स्थापना गर्ने निर्णय गरेको थियो । शिक्षक बैंक अन्तर्गत् ‘शिक्षक प्रतीक्षा सूची’ रहने जनाएको छ । पालिकाअन्तर्गत् रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक लामो समय विदामा बस्दा विदा अवधिभर उक्त प्रतीक्षा सूचीमा सूचीकृत शिक्षकलाई खटाइने जनाइएको छ ।
‘सामुदायिक विद्यालयका शिक्षकहरुले शिक्षा ऐन तथा नियमावली बमोजिम पाउने विविध प्रकारका विदाहरु कुनै न कुनै बेला उपयोग गर्न पाउनेछन्’, गाउँपालिकाको सामाजिक विकास शाखाको संयोजक कमान सिं पाख्रिनले भन्नुभयो– ‘कतिपय विद्यालयमा रिक्त अस्थायी दरबन्दी रहेको अवस्था पनि छ ।’ यस्तो अवस्थामा शिक्षक बैंकले दैनिक शिक्षण सिकाई क्रियाकलापलाई निरन्तरता दिने र नवशिक्षकलाई थप शिक्षणको तयारीसँगै आर्थिकरुपमा पनि टेवा पुग्ने उहाँले बताउनुभयो ।
सूचनामा बालविकास केन्द्र सहजकर्ता, प्रावि, निमावि र मावि तहका लागि दरखास्त आह्वान गरिएको उल्लेख छ । बालविकास र गाउँपालिका अनुदानका लागि स्थायी अध्यापन अनुमतिपत्र अनिवार्य गरिएको शिक्षा शाखा प्रमुख प्रमोद राईले जानकारी दिनुभयो । अस्थायी र करारको लागि भने ऐन तथा नियमानुसार सिफारिस हुने उहाँले बताउनुभयो ।
निमावि र मावि तहको लागि विषयगत शिक्षक माग गरिएको छ । जसमा अंग्रेजी, गणित, विज्ञान र कम्प्युटरका लागि विषयगतरुपमा दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएको छ । शिक्षक बैंकअन्तर्गत् रहने शिक्षक प्रतीक्षा सूचीमा सूचीकृत हुन ईच्छुक र योग्यता पुगेका व्यक्तिहरुले गाउँपालिकामा सम्पर्क गर्न भनिएको छ । बागमती गाउँपालिकामा ५० वटा सामुदायिक विद्यालयहरु छन् । जसमा ३५ प्रावि, निमावि १० वटा र मावि ५ वटा रहेका छन् ।