हेटौँडाः चितवन जिल्लाको रत्ननगर नगरपालिका–१०, त्रिनेत्र पेट्रोल पम्प नजिक मोटरसाइकल डिभाइडरमा ठोक्किँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन जिल्लाको खैरहनी नगरपालिका–७ का २२ वर्षीय देवनारायण चौधरी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको हो ।
शनिबार राति साढे ११ बजेको समयमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना २१ प ४१५८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो । दुर्घटना हुँदा चालक चौधरीको दाहिने हात, बायाँ आँखामाथि चोट लागी गम्भीर घाइते भएका थिए । घाइते चौधरीलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा बिहान १२ बजेर २२ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।