हेटौँडाः मकवानपुरमा एकै दिन ४ स्थानमा सवारी दुर्घटना भएको छ । शनिबार जिल्लाको भिमफेदी गाउँपालिका, हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ, भने ३ जना घाइते भएका छन् ।

हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । हेटौँडा–१०, बाइपास रोडको पिपलबोटमा कर्रातर्फबाट बसपार्कतर्फ आउँदै गरेको बागमती प्रदेश ३–००५ प ३५११ नम्बरको स्कुटरलाई बसपार्कबाट कर्रातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६८५४ नम्बरको टिपरले ठक्कर दिएको हो ।

टिफरको ठक्करबाट स्कुटर चालक हेटौँडा–११, थानाभर्याङका ५५ वर्षीय भिम बहादुर बिडारी घाइते भएका थिए । घाइते बिडारीको दाँया हातमा चोट लागेको थियो । विडारीलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा थप उपचारका लागि दिउँसो ४ बजेर ४० मिनेटको समयमा चुरेहिल अस्पताल लगिएको थियो । बिडारीको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि साँझ ७ बजेर ५० मिनेटको समयमा भरतपुरस्थित चितवन मेडिकल कलेज रिफर भएकोमा उपचारको क्रममा आइतबार बिहान १२ बजेर ३२ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । बिडारीको शव पोष्टमार्टमाका लागि सरकारी अस्पताल चितवनमा रहेको छ । टिपर चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

यस्तै, कान्तिलोकपथ सडकखण्ड अन्तर्गत हेटौँडा–७, न्युरेनीमा बसले मोटरसाईकललाई ठक्कर दिएको छ । शनिबार दिउँसो १२ बजेर ४० मिनेटको समयमा हात्तीसँुडेबाट हेटाँैडातर्फ आउँदै गरेको ना ७ ख ४५७१ नम्बरको यात्रुबाहक बसले हेटौँडाबाट हटियातर्फ जाँदै गरेको प्रदेश ३–०२–००७ प ८३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक बकैया–४, माझगाउँ बस्ने ३० वर्षीय सुरेश ब्लोन र मोटरसाइकलमा पछाछि सवार ३० वर्षीय दिनेश ब्लोन घाइते भएको प्रहरीले जनाएको छ ।

यस्तै भिमफेदी गाउँपालिका–३ भूमिचुलीमा टिपर दुर्घटनामा परेको छ । ऋद्धि–सिद्धी सिमेन्ट उद्योगको खानीबाट चुनढुङ्गा लोड गरी आउँदै गरेको ना १ क ५८७ नम्बरको टिपर आफै अनियन्त्रित भई सडकबाट ४० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति नभएको र टिपर पूर्णरुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका–८, भिआइपी चोकमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको छ । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ क ०१८६ नम्बको ट्रकले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–३, भक्तिपुर घर भई हाल मनहरी बस्दै आएका १३ वर्षीय विकास बसेललाई बाटो काट्ने क्रममा ठक्कर दिएको हो । ट्रकको ठक्करबाट बसेल गम्भीर घईते भएका थिए । घाईते बसेलको मनहरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको पुरानो मेडिकल कलेज भरतपुर चितवन रिफर भएको प्रहरीले जनाएको छ । ट्रक र चालक चितवन जिल्लाको भरतपुर महानगरपालिका–६ बस्ने ४२ वर्षीय जंग बहादुर केसी प्रहरीको नियन्त्रणमा रहेका छन् ।