हेटौंडाः देशव्यापीरुपमा बिहिबार र शुक्रबार दुई दिन बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइँदैछ । देशव्यापीरुपमा स्थानीय स्वास्थ्य केन्द्रमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने छ । बिहिबार मकवानपुरका खोप केन्द्रहरुमा एकसाथ भिटामिन ए र जुकाको औषधि खुवाउने कार्य भएको छ ।
भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यमा जनप्रतिनिधिले समेत सहभागी भएका छन् । खोप कार्यक्रममा खटिने स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न जनप्रतिनिधिहरु खोप केन्द्रमा खटिएका थिए । संघीय सरकारले निर्धारण गरेको ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ अन्तर्गत् ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका रेखा मैनालीले जानकारी दिनुभयो । ६ महिनादेखि २ वर्षसम्मका बालबालिकालाई बहुसूक्ष्म पोषक तत्व (बालभिटा) पनि वितरण गरिनेछ । सरकारले हरेक वर्षको दुई पटक बैशाख ६–७ र कात्तिक २–३ गते ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गर्दै आएको छ ।