उपाधिसाथ हेटौँडा–४ को टिम ।

हेटौँडाः चौथो संस्करणको मेयर कप फुटबल प्रतियोगिताको उपाधि ४ नम्बर वडाले जितेको छ । बुधबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनल खेलमा १४ नम्बर वडालाई टाइब्रेकरमा ६–५ गोलअन्तरले हराउँदै ४ नम्बर वडाले उपाधि जितेको हो ।

निर्धारित समय १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि बराबरीमा रोकिएर नतिजाको लागि सडन डेथमा धकेलिएको थियो । प्रतियोगिताको उपाधि विजेता वडा–४ ले दुई लाख रुपैयाँ र उपविजेता वडा–१४ ले एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, प्रतियोगितामा तृतीय हुने १५ नम्बर वडाले ५० हजार रुपैयाँ र चौथो हुने १३ नम्बर वडाले २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै वडा नम्बर ४ का अनिश महर्जनले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलरक्षक निरज देउला, उत्कृष्ट डिफेन्डर १४ नम्बर वडाका सुविन घलान, उत्कृष्ट मिडफिल्डर १४ नम्बर वडाकै दीपेश भण्डारी र उत्कृष्ट फरवार्ड ४ नम्बर वडाका अनुप राना मगर घोषित भएका छन् ।

प्रतियोगितामा हेटौँडा उपमहानगरपालिकाको १९ वटै वडाहरुको सहभागिता रहेको थियो । नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्रप्रसाद घिमिरेको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियो । पुरस्कार वितरण कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँ, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष वेश खड्गी, हेटौँडा–११ की वडाध्यक्ष जुना दहाल, हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देललगायतको आतिथ्य रहेको थियो ।

यसअघि मंगलबार भएको पहिलो सेमिफाइनलमा साविक उपविजेता वडा नम्बर १५ लाई टाइब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै १४ नम्बर वडा फाइनलमा प्रवेश गरेको थियो भने मंगलबार भएकै दोस्रो सेमिफाइनल खेलमा ४ नम्बर वडाले १३ नम्बर वडालाई सडनडेथमा ५–४ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो ।